सोलुखुम्बु : कोको मेन्दो तामाङ समाज थुलुङ दुधकोशी ७ साउनेको नवनिर्मीत भवन संगै साविक वडा स्तरीय भलिबल खेलको उद्घाटन गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले सरकारले विनियोजन गरेको बजेट भन्दा दोब्बर जनश्रमदान गरि भवन संगै खेलमैदान निर्माण गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले गाउँपालिका भित्रका अधिकांश सामाजिक संस्थाले प्राप्त गरेको बजेट भन्दा बढी काम नगर्ने प्रथाको कोको मेन्दो समाजले अन्त्य गर्ने प्रयास गरेको भन्दै प्रोत्सान स्वरुप पुरस्कार प्रदान गर्ने बताउँनुभयो । वडाबाट बिनियोजित तीन लाख पचास हजार बजेटबाट उक्त भवन निर्माण गरेको समाजका अध्यक्ष लिलामान तामाङले बताउँनुभयो ।

गाउँपालिकाको बिकासका निम्ती गाउँबस्तीमा क्रियाशिल सामाजिक संस्थाको भूमिका महत्वपुर्ण हुने भन्दै सबै जातजाति र भाषालाई समान ढंगले अगाडी बढाउनुपर्छ भन्ने मान्यताका साथ गुठी भवन निर्माण देखि अन्य कार्यक्रममा स्थानीय सरकारले सहयोग गर्ने गरेको अध्यक्ष राईको भनाई छ ।

यस्तै वडा अध्यक्ष रामसंघर्ष किरातीले विगतको तुलनामा बिकास निर्माणले सोचेभन्दा बढी गति लिएको बताउँनुभयो । उहाँले तामाङको गुम्बा व्यवस्थापन, क्षेत्री गुठीको भवन र राई समुदायको भुमेथान सहित दर्जनौ गुठी भवन निर्माण गरिएको बताउँनुभयो । वडा नम्बर ७ का वडा सदस्य काल्टुङ तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपलिका अध्यक्ष राई, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, तीन दिन सम्म सञ्चालन हुने भलिबल खेलमा ११ समूहले सहभागीता जनाएको आयोजकले जनाएको छ ।