द. कोरिया फर्कने श्रमिकको मे १२ मा उडान हुने, नेपाल एअरलाईन्सको विमान पहिलो पटक कोरिया अवतरण हुँदै ।

✍जीवन खत्री, सउल -बैशाख २४
कोरोना माहामारी अघि दक्षिणकोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकहरूलाई १२ तारिखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एअरलाईन्सको चार्टर विमान मार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो । जसमा भिसा अवधी सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकताका दिने र बाँकीलाइ पालैपालो उडाईनेछ । भने चर्टरनै भएपनि नेपाल एअरलन्सको विमान पहिलो पटक दक्षिण कोरियामा अवतरण हुनेछ ।
लकडाउनका कारण बिदा अवधी समाप्त भएपनि कोरिया फर्कन नसक्दा बिदामा नेपाल पुगेका ८०० बढी नेपालीहरूको रोजगारीनै गुम्ने खतरा बढेपछि याहाँका व्यावसायि, समाजसेवी र एनआरएन कोरिया लगायतले कोरिया फर्कनु पर्ने नेपालीलाई फर्काउन सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए । अनुरोध अनुरुप नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले कोरिया फर्किनु पर्ने नेपाली श्रमिकलाई श्रमिकको आफ्नै खर्चमा कोरिया फर्कन सक्ने निर्णय गरेको थियो ।
लगत्तै एनआरएन कोरियाले नेपाल एअरलाईन्सको विमान चार्टर गरि गत अप्रिल ३० तारिखमै उडाउने तयारी गरेको थियो तर दक्षिण कोरिया सरकारको अनुरोधमा नेपाल सरकारले कोरिया फर्कने सम्पूर्ण नेपालीहरूको स्वास्थ्य परिक्षण (र्यापिड टेस्ट) गरेर मात्र फर्कनुपर्ने निर्णय गरेपछि मेडिकलका लागि समय लाग्ने भन्दै उक्त उडान रद्ध भएको जनाईएको थियो ।
ततपश्चात नेपाल एअरलाईन्सले पुन मे १२ तारिखको लागि उडान गर्ने निर्णयसँगै कोरिया आउन चाहने नेपालीको उडान कहिले होला भन्ने अन्योल हटेको छ । यसका लागि एनआरएन कोरियाले संयोजन गरेको छ । यसका लागि चरणवद्ध रुपमा काम भईरहेको एनआरएन कोरियाका महासचिव डा. बिमल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालमा पुगेर रोकिएका र आउन चाहने नेपाली १४०० बढी छन् । जसमध्ये ८०० बढ‌ीले फर्मनै भरेका छन् । ती मध्ये सबैको डाटा एचआरडी कोरियालाई बुझाईनेछ । बुझाईएका डाटाबाट अवस्था हेरी एचआरडी कोरियाले कोरिया फर्किन सक्ने नेपाली श्रमिकको निर्णय लिनेछ । यश अवधीमा नेपालमा रहेका नेपालीले शुक्रराज ट्रपिकल टेकु वा नजिकको र्यापिड टेस्ट गराउने अस्पतालबाट र्यापिड टेस्ट गराउनु पर्नेछ ।
टिकट बापत १ लाख १३ हजार ७ सय पचहत्तर रूपैँया लाग्ने एनआरएन कोरियाले जनाएको छ । कोरिया फर्केपछि अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाईनमा बस्नु पर्छ । फर्किनु अघि कम्पनीसँग कुरा गरि कम्पनीले क्वारेन्टाईनको सुविधा दिन सक्ने नसक्ने क्लियर गरी, दिन नसके कोरिया सरकारले सहयोग गर्ने सूचना जारी भएको छ तर क्वारेन्टाईनको खर्च लाग्ने वा नलाग्ने खुलाईएको छैन् । यसअघि दिनको एक लाख कोरियन वन तिरेर सरकारी क्वारेन्टाईनमा बस्न सकिने जनाईएको थियो ।
लकडाउनका कारण काठमाण्डौ बाहिर भएकाहरूलाई काठमाण्डौसम्म आउन समस्या हुन सक्ने भन्दै एनआरएन कोरियाले गृहमन्त्रालयसँग समन्वय गरी घर नजिकैको सहरबाट यातयातको व्यवस्था समेत गर्नेछ । तर उक्त खर्च भने स्वयम्ले तिर्नुपर्ने बताईएको छ ।