✍️जीवन खत्री, सउल- भदौ २६ नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तब्य रहेको मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारी पश्चात झण्डै २५ लाख बढीको रोजागारी गुमेको छ । गत अगष्टमा मात्रै २ लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार याँहाको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले बृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ । यो सँगै वित्तिय संकट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या गत कोरोना लहर पश्चात ८ महिना यताकै उच्च हो ।
यसको प्रत्यक्ष असर याहाँ श्रम गरीरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनिमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्री तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न बाध्यात्मक अवस्था सृजना गर्ने, हप्तामा ३ वा ४ दिन मात्र काममा बोलाउने लगायतका कारण नियमित पाईरहेको आम्दानीमा गिरावट आउने तथा समयमा तलब पाउन समेत मुश्किल भएको लगायतका समस्या याहाँ श्रम गरीरहेका नेपालीहरूको छ ।
तर एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले, यो माहामारीमा पनि विदेशी कामदारहरू विशेषगरि नेपाली कामदारहरू कोरियामा आम्दानी तथा काम घटेपनि अझै सुरक्षित रहेको, कम्पनी बन्द भई बोरोजगार भएँ भन्ने एकाध बाहेक सुन्नु नपरेको र थोरै भएपनि आम्दानी भैरहनु सुखद कुरा रहेको बताउनु भयो । कोरियामा श्रम गर्ने नेपालीहरूको भिसा (इ-९) बलियो हुने र उनीहरूलाई कुनै समस्या परे लेबर नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भएपनि रोजागरी बचाई राख्न सक्ने भएका कारण नेपालीहरूलाई खासै चिन्ता नहुने उहाँको धारणा छ ।
याँहाका मझौला तथा ठूला कम्पनीहरू बिशेषत बाह्य निर्यातमा निर्भर रहन्छन् । कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनी लगायतमा पर्दा याँहाको श्रमबजारमा अत्याधिक उथलपुथल देखिएको हो ।