कोरियामा बुधबार आम निर्वाचन हुँदै, कोरोना संक्रमितलाई पनि मतदान गर्ने व्यवस्था

✍जीवन खत्री, सउल - बैशाख २
कोरोना संक्रमण माहामारीकै बीच राष्ट्रिय सभाका ३ सय सदस्यका लागि दक्षिण कोरियामा बुधबार आमनिर्वाचन हुँदैछ ।  चार वर्षे कार्यकालका लागि चुनिने उमेद्वारलाई ४ करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।
वर्तमान राष्ट्रपति मुन जे ईनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनामा छ । हाल सदनमा उनको १२० सिट छ । त्यसो त बलियो प्रतिद्वन्दी मानिने यूनाईटेड फ्यूचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ । सदनमा यूटाईटेड फ्यूचरको पार्टीको ११२ सिट भए पनि २० सासंसदले छुट्टै युनाईटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् । र उनीहरू पनि आफ्नो बहुमत आउने दाबी गरीरहेका छन्
मजदुरहरूको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल यतिबेला पूरा भएको छ । आफूले सत्ता सम्माल्नासाथ मजदुरको ज्याला प्रतिघण्टा १० हजार वन पुर्याउने उनको महत्वकाँक्षी योजना अझै पूरा हुन सकेको छैन् । तर पनि अन्य योजनाहरू चुस्त गतिमा अगाडि बढाउनुका साथै पछिल्लो कोरोना माहामारीलाई घटाउन उनको सरकारले गरेको कदमको विश्वव्यापी रुपमा प्रशंसा भैरहेको छ । जसका कारण पनि उनको पार्टीले बहुमत ल्याउन सक्ने अडकल छ ।
मुनको पार्टी डेमोक्रेटीकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहेअनुसारका काम गर्न, नीति नियम बनाउन र आफ्ना योजना पूरा गर्न सक्नेछन् ।
कोरोनाको जोखिम हुन नदिन के छ तयारी ?
कोरियाली निर्वाचन आयोगका अनुसार कोरोना संक्रमण फैलन नदिन सुरक्षा व्यवस्था चुस्त बनाएको छ । मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि ह्यान्ड सेनिटाइजर अनिवार्य प्रयोग गर्नु पर्ने छ । हातमा सेनिटाइजर लगाएपछि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्लास्टिकको पन्जा लगाउनुपर्नेछ व्यवस्था गरिएको छ । मतदान स्थलमा सबै मतदाताको विशेष यन्त्र मार्फत ज्वरो नापिने र ३७.५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ ।
चुनावमा कोरोना संक्रमितले पनि भोट हाल्न पाउने छन् । उनीहरू बिहान ९ बजेभन्दा अघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाईएको छ । साथै विदेशमा रहेका कोरियाली नागरिकका लागि पनि मतदानको व्यवस्था गरिएको थियो । उनीहरूले दुई साताअघिदेखि नै भोट हालि सकेका छन् ।
सुनसान प्रचार प्रसार -
कोरोना माहामारीका कारण कोरियाली सरकारले सभा सम्मेलन तथा भेला गर्न रोक लगाएको छ । कोरियामा कोरोना संक्रमण पुष्टि भएपछि जनवरी २० बाटनै सभा सम्मेलन गर्न रोक लगाईएको छ । दुई वा तीन जना प्रतिनिधीहरूले सामान्य घरदैलो कार्यक्रम गरि प्रचार प्रसार तथा सामाजिक सञ्जाल र फोन म्यासेजबाटन‌ै प्रचार भए भने कता कति गाडीबाट माईकिङ मार्फत उम्मेद्वारहरूले आफ्नो योजना भने र ब्यानर टाँस्ने काम पनि गरे ।
उसो त कोरियामा सबैजसो नागरिक आ-आफ्नो काममा ब्यस्त हुन्छन् । कोरोना नभएकै अवस्था हुन्थ्यो भनेपनि चुनावी प्रचार प्रसार उस्तो तामझाम हुने थिएन् । झन् कोरोना संक्रमणका कारण यसपटक त हुनै कुरै भएन् ।