
✍️जीवन खत्री, सउल - बैशाख ३
दक्षिण कोरियामा कोरोना कोभिड १९ बाट संक्रमण भई उपचार पछि निको भएर घर फर्किएका ११६ जनामा पुनः संक्रमण देखिएको छ । यस सँगै याँहाका स्वास्थ्य अधिकारीहरूले भाईरस पुन: सक्रिय भएको हुन सक्ने र यदि पुनः सक्रिय भएको हो भने यो विश्वका लागिनै चिन्ताको विषय हुन सक्ने आशय व्यक्त गरेका छन् ।
पछिल्लो समय दक्षिण कोरियामा नया संक्रमितको संख्या निरन्तर अोरालो लागी रहेको छ । यसले कोभिड १९ रोकथामका लागि कोरिया विश्वभर प्रशंसित हुँदै छ । तर पुन: संक्रमितहरूको संख्या देखिनु दुःखद कुरा भन्दै याँहाका स्वास्थ्य अधिकारीहरूले यो संख्या अझै बढ्न सक्ने अनुमान समेत गरेका छन् । यसका साथै यो भाईरस कसरी पुन : सक्रिय भयो भन्ने बारेमा पनि वैज्ञानिक कारणको अध्ययन जारी नै रहेको जनाएका छन् । तर केही विज्ञहरुले भने गलत परिक्षणका कारण यस्तो भएको हुनसक्ने पनि शंका गरेका छन ।
चीनको वुहान शहरबाट कोरोनाको माहामारी फैलिएपछि लगत्तै संक्रमण उच्च भएको अर्को मुलुक दक्षिण कोरियाले नेपालमाजस्तो लकडाउन नगरेरै कोभिड १९ संक्रमण रोक्न सफलता प्राप्त गरेको देखिन्छ । याँहा हालसम्म १० हजार ५ सय ३७ जनाको संक्रमण देखिएको छ भने २ सय १७ जनाले ज्यान गुमाई सकेका छन् ।