दशैँ टिकाकै दिनमा कोरियामा औधोगिक दुर्घटनामा एक नेपालीको मृत्यु ।

✍️ जीवन खत्री, सउल, कार्तिक १३ - सोम्बार टिका थियो । घरदेशमा भए दशैँको अर्कै माह‍ोल हुने थियो तर परदेशमा त्यो सम्भव भएन । उनी घाम नउदाउँदै कम्पनीको काममा निस्के तर बेलुका सदाझैँ फर्किन पाएनन् । उनी हुन ईपिएस प्रकृया मार्फत कोरिया आई करिब साढे तीनबर्ष देखि एक कङ्क्रिट कम्पनीमा कार्यरत उदयपुरका ज्ञानेन्द्र राई । उनको टिकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भयो ।

कम्पनीमा सँगै काम गर्ने सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियन कामदारले चलाएको छिगेछा (समान बोक्ने गाडी)ले च्यापेर उनको मृत्यु भएको हो ।

मृतक राई ख्यङ्गसान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे । उनलाई सोमबार काम गर्ने क्रममा छिगेछाले च्यापेपछि उपचारका लागि नजिकैको अस्पताल पुर्याईएको भए पनि अस्पतालले लगत्तै उनलाई मृत घोषणा गरेको थियो ।

उनको शवलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । घटना बारे सउल स्थित नेपाली दुतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दियो । मृतक राईको नेपालमा परिवारलाई समेत खबर गरिसकेको उनका सहकर्मी पुनले बताए ।