कोरियामा निको भईन १०४ वर्षे कोरोना संक्रमित वृद्धा

जीवन खत्री, जेठ २ सउल
दक्षिण कोरियामा १०४ वर्षे एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचार पछि शुक्रवार पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट डिस्चार्ज भएकी हुन् । चोई, दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुने मध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् ।
सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसीरहेकी चोईलाई मार्च ८ मा कोरोना संक्रमणको पुष्टि भएको थियो । पुष्टी भए पश्चात उनलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरि उपचार गरिएको थियो ।
उनलाई सुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो तर स्वास्थ्यकर्मीहरूको मेहनतका साथ उपचारका कारण उनी ठीक भईन् ।
चोईको १२ पटकसम्म कोरोना परिक्षण गरिएको थियो । उनको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो । डिस्चार्जको समयमा पुष्पगुच्छा सहित उनलाई सम्मान गरिएको थियो । उनल् पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिईन् ।