कविता - आग्रह

आमा !
काधभरी जिम्मेवारी बोकेर
उडेको हुँ , सिमापारी
न रोक्न सक्यो समय ले
खै न छेक्न सक्यो
फाट्दै गरेको आकासको बादलले
बाध्यताको आधी हुरिले
उडाए पछी
समयको कहाँ हुदो रहिछ र दोष
तर आमा !
टेबल माथिको औषधी
समयमा नै खानु है ।

यहाँ त !
समय किनेर बेचिरहेकोछु श्रम
जती मंहगो भए पनि
आमाको लागी किनिदिनुछ औषधी
कतै त्यही भेट्छु ,केहि आशा
आधा -आधा मन बाढेर
सिमापारी सिमावारी तारिरहन्छु
थुप्रै बाध्यता हरु बगिरहन्छन
कतै देख्छु आमाको आखाँ भरी
आशातित रंगिन सपनाहरु
हो यो औषधी जस्तै
जिन्दगीका रंगहरु फरक -फरक छन
तर आमा !
टेबल माथिको औषधी
समयमा नै खानु है ।

✍️गौतम सागर राई
सोलुखुम्बु हाल - अमेरिका कोलोराडो ।