कविता “ आमाको बैँश”

आफ्नै इतिहास सडेर बनेको माटो
भिजाएर आफ्नै आँशुले
मेरी आमा
लिप्दै आइरहेकी हुन्
भुइँ, पेटी, भित्ता, घर ।

वैँश भनेको मैनबत्ती त हो
यही घर उज्यालो पार्न
पग्लिएकी हुन्
मेरी आमा ।

आमाको चुल्ठोमा नै फुलेका हुन्
सिरुका फूलहरु
त्यही चुल्ठोमा नै मुर्झाएको हो सिरुको इतिहास।

हजारौं पटक डुबाएकी हुन् आफैँलाई
आफ्नै पसिनाको कुवामा
हजारौं पटक फुलाएकी हुन् आफूलाई
भीरकै रुखको हाँगामा
हजारौं पटक गाडेकी हुन् आफूलाई
आफ्नै सपनाहरूको चिहानमा।

मेरी आमालाई थाहै भएन
सिउँदोको सिन्दुर फुक्ने हुरी कुन दिशाबाट आयो
बिना मौसम कसरी गडगडायो
आँशुको खहरे
आफ्नै सपनाले कसरी गऱ्यो आत्महत्या ?
र, सकियो वैंशको चोला ।

जब छोडेर गए बा
उनलाई लाग्यो
धेरैथोक लिएर गए बा।

जस्तो की-
ढुकढुकिन बाँकी  मुटु
मुस्कुराउन बाकी  ओठ
बाँच्न बाँकी उमेर
चाल्न बाँकी पाइला
देख्न बाँकी सपना

जस्तो की-
उक्लन बाँकी दुई खुड्किला सिँडी
राख्न बाँकी मेरो शीरमा हात
र सुनाउन बाँकी सङ्घर्षका लोकगाथाहरु ।

बा र आमाबीच हुर्किरहेको वियोगी आख्यानकाे
प्रमुख पात्र जो हुँ म
बाले कुल्चिराखेको आधा बाटोमा उभिएर
सोचिरहेकी छु
कि आमाले उठाएको हतियारको गीत
कसरी जोगाउँ ?

यो गीत
भान्साबाट निस्किएर
सडक पुगेको दिन
सदियौंदेखि एक्लै लडिरहेका धरतीका बाहरू नाच्नेछन्
सदियौंदेखि घरलाई थुनेर बसेका फलामका पर्दाहरू खोलिनेछन्
सदियौंदेखि आत्महत्या गरिरहेका आमाका बैंशहरूले न्याय पाउनेछन् ।

फेरि पनि
भन्सामा थुनिनु अघि नै
म सोचिरहेकी छु
कि आमाको वैंश फर्किने बाटो
कहाँबाट खन्न शुरु गरुँ ?

✍सुनिता खनाल

धादिङ हाल - काठमण्डौ ।