कविता

विडम्बना

हरियाे पासपाेर्ट सिरानी हालेर सुतीरहेछन् बुद्द
उनलाई थाहा छ
भाेलि भालेकाे डाँकाेसँगै
गरिबीकाे चिबर अाेढेर, छोड्नुछ लुम्बिनी

पिता सुद्दोधन र माता मायादेवीकाे आँसु पुछ्न
यसोधराको खुसी खोज्न
र राहुललाई अक्षरको उज्यालो दिन
कुन ध्यानले सम्भव छ?

बरू,
पचपन्न डिग्रिकाे ताताेमा अाफूलाई
अङ्गार बनाउनु परोस्
खुकुरीकाे धारमा राखेर प्राण
पचपन्न तलामाथि झुन्डिनु परोस्
मेसिनकाे बिचमै अड्काउन किन नपराेस्, जीवन?
बाटो छेक्ने तिलौराकोटलाई
हल्लाउनु नै छ बिदाईका हात

अब भेटिएलान् देवदत्त पनि
विदेशी भूमिमा पाइला टेकेकै दिन
सोध्लान् आनन्दले गाउँको खबर
घर छोड्नुको पीडा,
घर छाड्नेलाई मात्र थाहा हुन्छ

यस्तोमा
दु:खको भकारी च्यातेर
कसरी बल्ला ज्ञान जस्तो सुखको दीयो
कसरी भरिएला सहकालको भिक्षापात्र?
कसरी जपिएला?
पट्टी बाँधेर आँखामा शान्तिको मन्त्र।

तर, दु:खको काँडा बढ्यो भनेर
वा पत्थरहरूको घर अग्लियो भनेर मुटुमा
कसरी मैलो देख्नु आफ्नो माटो?
कसरी कुरूप देख्नु आमाको मुहार?

आऊ मित्र,
अब आफ्नै माटोमा रोपौँ प्रेमको अनाज
र गुन्गुनाउँ परिश्रमको मन्त्रसँगै
"ॐ माने पद्मे हुँ"

✍️कल्पना तामाङ
-मन्थली-४, रामेछाप
हाल: कन्सास सिटी, मिजाैरीअमेरिका ।