कविता -“देश छोडेको रात”

आकाशको राजमार्गमा
म चरा बन्नु अगाडि
छुट्नेछन् प्रिय चीजहरु
मात्र हुनेछ बाँकी
छुटिसकेको एउटा छायाँ
आमाले अन्तिम पटक स्पर्श गरेको
औंलाहरुको अलिकति तापक्रम ।

जब यो भूगोलको माटो छोएर
मैले आफ्नो पैताला उठाएँ
कतै बजिरहेथ्यो एकतमासले
भायोलिनको  धून जस्तै
यो देशको राष्ट्रिय गान
हवाइजहाजको पारदर्शी झ्यालबाट
तल हेरें एकछिन
र पखेटा हाल्दै मनलाई
देश छोएर फर्किएँ एकपटक
दुरी बढ्नु भनेको
अत्यन्त दुखद कुरा हो
चाहे आफ्नो प्रिय मान्छेसँग होस्
या  भूगोल सँग ।

सोचेथेँ
चुपचाप निक्लनेछु
म त जाने मान्छे
सरासर गए हुने थियो
किन बनिरहेछु केटाकेटी जस्तै दुखी ।

म जाँदै गर्दा
फर्काउन खोजे हिमालहरुले
फर्काउन खोजे पहाडहरुले
फर्काउन खोजे नदीहरुले
ऐठन जस्तो सपनाको ग्रहमा
म जानै पर्ने थियो हिँडिहाले
साच्चै भनौं भने
उस्तै कष्टकर कुरा रहेछ
देश छोड्नु र मृत्युवरण गर्नु !

यति बिघ्न त कहिल्यै
दुखेकै थिएन छात्ती
यति गर्हौ त
भएकै थिएन यो शरीर
किन यो जुन पनि
ओकलीरहेछ आगोको गीत
किन यो बतास पनि
ल्याइरहन्छ यादहरुको सिरेटो
लाग्छ मुटु घरमै छोडेर आएको छु,
यति बेला त
आमा पनि सपना देख्दै होलिन् मेरो
देश छोडेको यो रात
म  भने रातभर जागै छु ।

✍️देवकी अभिलाषी
काठमाण्डौ ।