कविता - “एक अज्ञात कविको सपना
मैले यस्तो कुनै ऐना देखेको छैन
जसले सुर्यको प्रकाशलाई च्याप्प समातेर
रातिको लागि घाम साँचेर राखिदेओस्
मैले कुनै चराको गुँडमा भकारी देखेको छैन
जसले महिनौं दिनका लागि चारो साँचेर राखोस्
धन्यवाद छ तिनीहरूलाई
जसले मलाई कार्टुन बनाएर हाँसे
र भने- खै के नापिस् त कविता लेखेर ?
मलाई मेरो गरीबीले
रेटेपनि सपनाको घाँटी
लगाएपनि स्वतन्त्रतामा हतकडी
ठोकेपनि रहरका उन्मुक्त चराहरुलाई गोली
म राजी छु अभावको जस्तोसुकै कोर्रा सहन
किनकी म कवि हुँ
कविहरु हँसिया बन्नका लागि हथौड़ा सहन सक्छन्
संसारलाई यो थाहा छ कि
दिनभरि ठेलागाडासँग हिँडेर
बेलुकी चुला जलाउने कवि हुँ म
माटोमा अौंला रोपेर
सपना उमार्ने कवि हुँ म
ढुंगामा पाखुरा बजारेर
चन्द्रमासँग हाँसोको प्रतिस्पर्धा गर्ने कवि हुँ म
व्यक्त नगरुँला त्यो छुट्टै कुरा हो
बाटो त म छोएरै पत्ता लगाउछु
कि यो बाटो भएर कहाँ पुगिन्छ
किनकि म कवि हुँ
कविहरु माटो सुँघेर देश पत्ता लगाउछन्
ए जिन्दगी !
तँसँग रुनु हाँस्नु त मेरो दैनिकी हो
मलाई सिलौटामा राखेर
अझै कति पिस्नु छ पिस्
तँ सँग लाप्पा खेल्दै
जंगलमा घाँस दाउरा गर्दागर्दै
सहस्रौं चराका भाषा बुझ्ने भएको छु
झरना र खोलाहरुको गीत बुझ्ने भएको छु
भीर, पाखा र पखेराहरुको आर्त बुझ्ने भएको छु
किनकि म कवि हुँ
कविहरु पैताला च्यातेर भाग्य सिलाउन जान्दछन्
प्रिय जिन्दगी
यदि तिमीसँग पराजीत भएर
कतै भिखारी भएछु भनेपनि
भिखारी शिर्षककै कविता लेखुँला
एक टुक्रा रोटी नपाएर
कतै भोकले मर्न लागेछु भनेपनि
मृत्यु शिर्षककै कविता लेखुँला
तर मर्नुअघि
म एउटा यस्तो कविता लेख्ने छु
जसलाई पढेर कविता लेखकोमा गिल्ला गर्नेहरु
लाजले शिर निहुराउँदै भन्नेछन्
कविता हामी मानवकै सुरक्षा र समृद्धिको आवाज रहेछ
किनकि म कवि हुँ
कविहरू शब्दले छोएर आगोलाई पानी बनाउँछन् ।
✍️असिम सागर
काठमाण्डौ ।