कविता - “हिउँ”

धेरैले गाए हिउँका गीत
धेरैले लेखे हिउँका कविता
धेरैले चढे हिउँको शिखर
हिउँकै साँघु तरेर पसे धेरै
बटुवा हरु मुग्लान
गासे मित्तेरी साइनो
हिमाल पारी हिमाल वारी
तर हिउँले कहिलै
कसैलाई भनेन
म जस्तै अग्लो शिखर
भएर उभिरहनु ।

बरु ! गुराँस संगै
पहाडको छाती भरी
सेतम्य फुलिरहे
लेकका पाखाँभरी
तिते फापरका सेतो
फूल हरु संग
सुसाउदै बतास हरु संग
फुलिरहे
कसैको घरको आगन भरी
कसैको बाटो भरी
सपना , रहर बनेर
फुलिरहयो हिउँ
गुनासो गर्दैन हिउँ पगाली जाने
घाँम संग , मौसम र समय संग
र भन्दैन हिउँ
कसैलाई पनि म जस्तै
अग्लो शिखर
भएर उभिरहनु ।

✍️गौतम सागर राई
कोलोराडो बोल्डर ।