कविता “ फर्क अब आफ्नै देश ”
हिमालजस्तो स्वाभिमान भएको
बुद्धको जस्तो विचार भएको
म एक वीर गोर्खाली हुँ
अदम्य साहस बोकेर हिँडेका पैतालाहरू
र तराईका फाँटजस्तो फराकिलो छातीमा
आफ्नै माटोको रंग टाँसेर निधारभरि
हिँड्नु छ देश बनाउने अभियानमा
छोडेर परदेशमै हरियो पासपोर्ट
फर्किनु छ आफ्नै घर आँगनमा
र आफ्नै पसिनाले सिँचाइ गरेर
उर्वर बनाउनु छ अबको बाँकी युग
गाउँमा चर्किएका घरका भित्ताहरू
माटोले टालेर सुन्दर बनाउनु छ गाउँ
खेतमा चिरा परेका गह्राहरू
आफ्नै पसिनाले ओसिलो बनाउनु छ
फुलाउनु छ पहाडहरूमा रातो गुँरास
जब देश स्वतन्त्र भएर बाँच्छ
तब पो यो निश्चल आँखामा हिमाल हाँस्छ
डाँफेचरिका रंगीन प्वाँखजस्तै
रंग्याउन बाँकी छ मेरो देशको सपना
र देशको खम्बा भएर बाँच्नु छ मलाई
लालुपातेजस्तो रातो सपना बोकेर
अक्करे भिरमा मुस्कुराई रहेको गुँरासजस्तो
सगरमाथा चढ्ने आरोहीका पैतालाजस्तो
हामीले यो युगको गीत लेखौ
अब खनौं आफ्नै बाटो - कोदाली भएर
अब जोडौं हजार सपनाहरू - पुल भएर
फर्क युवा हो फर्क
यो देशको इतिहास हामी आफैंले लेख्नुपर्छ
युग बदल्ने जोसिला पाइलाहरू
उर्जाशील मुठ्ठीहरू
गोलीले छेड्न नसक्ने छातीहरू
आऊ परिवर्तनको एउटा
युगान्तकारी नक्सा कोरौं
अनि पो देश बाँच्न सक्छ
फर्क युवा हो देश फर्क
हामी हाम्रो पिढीको लागि
देश भएर बाँचौँ ।
✍️ विक्रम पवन परियार
रामेछाप हाल-काठमाण्डौ ।
नोट-७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएको कविता ।