कविता- ‘रातो रुमाल’
मेरै रगत पोको पारेर
मलाई नै यो रुमाल उपहार दियौ
ओ हिउँको मान्छे !
आज यो सपनाको पहाडमाथि
रातो रुमाल मात्र बाँकी छ
तिमी कहाँ बिलायौ ?
एकान्तको गीत हो जीवन
मैले आफैलाई ढाँटेकी रहेछु
मेरो हरेक गर्भपात सपनाको
रङ छ यो रुमालमा
मेरो आँशुको महाकाव्य
लेखिएको छ यो रुमालमा ।
मेरै घाइते मुटु पट्याएर
मलाई नै यो रुमाल उपहार ?
ओ धूवाँको मान्छे !
यो बगरको ढुङ्गामाथि
चिसो खरानी मात्र बाँकी छ
तिमी कहाँ हरायौ ?
जब आकाश एक्लो थियो
बादलको लोककथा बनायौ
जब म मौन थिएँ
तिमीले नै गीतहरु गुन्गुनायौ
लहर उठ्यो पर..... परसम्म मनको तलाउमा
र ब्युँझिए मृत सपनाहरु ।
पानीबाहिर एउटा तिर्खा लडिरहेको छ
चराहरु चुच्चोमा बोकेर बाँसुरी
कुनै सुदूर उपत्यकातिर भागिरहेका छन्
यो रातो रुमालको
पँखेटा काटिएको छ आज
ओ सिसाको मान्छे !
मेरो धरतीलाई अँध्यारो बनाएर
तिमी कुन अस्ताचलमा गएर निदायौ ?
✍️सुनिता खनाल
धादिङ हाल-काठमाण्डौ ।