कविता 
“प्रकृति”

रुष्ट प्रकृति अझै मानवसँग
फैलाउदै प्रकोप जीवन दर जीवन
अट्टहास गुञ्जिरहेछ देश परदेशमा
डर आफ्नै आफन्तसँग
जर्जर  धर्ती र जनगण
धमिलो आकाश अनि भविष्य
भेट्न नहुने कोइ कसैसँग
विषाक्त वायु अनि वातावरण
सम्पूर्ण जीवन अस्तव्यस्त
डर आफैले फेरेको श्वाससँग
हरे कस्तो समय यो आयो ।

रच्दै इतिहास कालान्तरसम्म
रहने भो बनेर उदाहरण हामीसँग
अविश्वसनीय र असह्य परिणाम
क्रुद्ध रहने हो प्रकृति कहिलेसम्म
परिवार गुमाए कतिले, न भेटी उसँग
विषाक्त आफ्नो स्पर्श आफ्नैलाई
दोष कसलाई दिनु, बचाउनु कसरी
भएन समाधान गरेर पनि प्रयास कठोरतासँग
जीत कसको हार कसको र कति गुनासो
सिंगो संसार परेको छ चपेटामा यसको
हराउनु छ यस विपत्तिलाई ।

लडेर, मिलेर अनि रोगलाई छलेर
हट्नेछ फैलेको अन्धकार एक दिन
फूल्ने छ फूल खुशीको फेरि एक दिन
हुनेछ जीवन सामान्य फेरि एक दिन
भेट्ने छौ सबैलाई निर्धक्क फेरि एक दिन
बस्ने छौ सुखले मिली सबै फेरि एक दिन ।

✍️ तारा अधिकारी
कोलोराडो अमेरिका ।