कविता - “सम्बन्ध “
एक किनारमा छटपटाइरहेकी म
अर्को किनारमा छटपटाइरहेको तिमी
जब प्रेमको डोरी
हृदयदेखि हृदयसम्म
झोलुङ्गे पुल बनेर झुन्डियो
तब बगिरहेछौँ हामी
निश्चल एउटै नदी बनेर
प्रिय !
भत्किएमा पुल,
किनारका बस्तीहरू दुखेझैँ
दुख्नुपर्छ हामी दुई किनार बनेर
सधैंभरि सग्लो रहे पुल,
किनारका जिन्दगीहरूले
डुबेको जिन्दगी खोज्न
यो पुलको बाटो हुँदै नदी तरेझैँ
जिन्दगीको नदी तर्न सकिन्छ
हातमा हात दिएर सधैंभरि।
त्यसैले प्रिय,
नच्यातिऊन् स्वार्थले मनका जुइनाहरू
कसिरहन सकौँ सधैँ सधैँ विश्वासका लठाराहरू
ताकि पुल युगदेखि युगसम्म टिक्न सकोस्
राधा र कृष्णको जस्तै नमूना बनेर ।
✍️मेनुका चापागाईँ “मेनू"
विराटनगर -३ मोरङ ।