
प्रिय मान्छे !
यतिबेला म
संसारकै सबैभन्दा सुख बाँचिरहेछु
संसारकै सबैभन्दा खुसी बाचिरहेछु !
कोही हातमा गुलाफ बोकेर
प्रेम गर्छु भनेर आए
पत्याइदिएँ
कोही अग्नीलाई साक्षी राखेर
जिन्दगी सँगै बिताउँछु भनेर आए
पत्याइदिएँ
जब विना आवाज मेरो जिन्दगीमा
तिमी आएपछि पो थाहा पाएँ
मैले प्रेम सम्झेर स्वीकारेका
ती तमाम पाटाहरु त
केवल एउटा कलाकारले रङ्गमंचमा देखाउने
अभिनय सिवाय केही होइन रहेछ !
तिमी आएपछि थाहा पाएँ
अहो ! प्रेम त बडो अचम्मको
जादू पो रहेछ !
अझ भनौं,
प्रेम त समुद्रको पानी रहेछ
जो कहिल्यै रित्तिदैन
प्रेम त आमाको काखजस्तै स्वर्ग रहेछ
जहाँ मसिना नानीहरु जसरी नै
खेलिरहुँ, निदाइरहुँ लाग्छ
अहो ! प्रेम त आफूलाई सबैभन्दा मन पर्ने
उपहार पो रहेछ
जसलाई कहिल्यै आफूबाट
अलग बनाउन मन लाग्दैन
हो, तिमी त्यही समुद्र बनेर आयौ
र भरियौ मभित्रको रिक्ततामा
मुटुभरि प्रेम मात्रै बोकेर आयौ
र, निथ्रुक्कै भिजायौ मभित्रको मरुभूमि !
अहो !
प्रेम त सिङ्गै पृथ्वी सेकाउने घाम पो रहेछ
तिमी त्यही न्यानो बनेर आयौ
र सेकाइदियौ हिउँ जसरी चिसिएको
मेरो छातिको देब्रे पाटो !
अझ भनौं,
प्रेम त एक ब्रह्माण्डै पो रहेछ
तिमी त्यही ब्राह्मण्ड बनेर आयौ
र, पूर्ण बनाइदियौ आधा आधा बाँचेकी मलाई
खन्याइदियौ मायाको हिमचुली
र शान्त बनाइदियौ मभित्रको अदृश्य जलन
तिमी आएपछि नै थाहा पाएँ
प्रेम त शाश्वत पो रहेछ !
प्रिय मान्छे !
अझै डुब्न देऊ मलाई
तिम्रो यो अलौकिक संसारमा
जहाँबाट म
यो युगलाई पुग्ने माया
मुटुभरी लिएर फर्किन चाहन्छु !
✍️ सुनिता खनाल
धादिङ हाल काठमाण्डौ ।