लघु कथा - मौन

✍️म उनको छेउमा गएर उभिए । उनि मलाई देखेर पनि न देखे झैँ  गरे । म अटेरी गर्दै  उनका  सामु उभिएँ  र आफुलाई चिनाए , उनि मौन थिए एक दिन दुई दिन यसरि हप्तौं बित्यो एकदिन अचानक भक्कानिएर रुन थाले ।बर्बराउदै भने मलाई जिउनै मन छैन । उनलाई त्यसरी रोएको देखेर मेरा पनि आँखा रसाएर आए ।अप्ठ्यारो मान्दै सोधे  किन तेसो भनेको भनेर तर उनि साह्रै दुखि देखिन्थे । छोरा-छोरीले ल्याएर नर्सिंग  होममा राखेर गएपछि फर्केर पनि नआएकोमा ।हुन पनि  त म  जतिपटक गए, एकपल्ट मात्र छोरालाई भेटेकी थिए , छोराको आदेश थियो रे कि कसैले पनि उनलाई सम्पर्क नगर्ने , परेको खण्डमा आफै  सम्पर्क गर्छु भनेर  त्यस नर्सिंग  होमले सम्पर्क गर्न खोज्दा उनि रिसाएका थिए रे

उनि निकै कमजोर देखिएका थिए  यति सम्म की उनको सांस मात्र बाँकि थियो ।  खाना अगाडी हुन्थ्यो  चिसो भएर जान्थ्यो तर उनि छुदै छुदैनथे ।
त्यो दिन उनि निकै खुसी थिए । खाना पनि खाएछन् ,सुकिलो लुगा लगाएका ,   उनि दङ्ग थिए ।जो जस्लाई  भेट्दथे भन्थे भोलि उनलाई भेट्न उनको परिवार आउदै छन्  भनेर ।हुन पनि किन न हुन महिनौ बितिसकेको थियो यो दिनलाई पर्खेर बसेको ।उनको उज्यालो अनुहारले मलाइ पनि उर्जा थपेको थियो । उनको खुशीले  मलाई मात्र होइन सबैलाई खुसी बनाएको थियो ।
म भोलिपल्ट जाँदा उनको कोठा  उनको परिवारले भरिएको थियो , दुवै छोराहरू, छोरि र नाति-नातिनीहरू वरिपरि जम्मा भएको देखेर मलाई उनको खुशीले हाँसेको अनुहार हेर्न इच्छाले छिचोल्दै
भित्र पसे । छेउमा गएर उभिए तर............... उनि  निस्तेज थिए । आँखा बन्द , अनि धड्कन पनि बन्द ।उनि सबै आउनु भन्दा अगाडि नै यो संसारबाट बिदा लिइ सकेका रहेछन ।

  • तारा अधिकारी
    डेनभर कोलोराडो ।