“लेख्न नसकेको आर्टिकल”
- जीवन खत्री
- रामेछाप हाल - दक्षिण कोरिया ।
गैर्ह आख्यान- "तपैँले जसरी पनि लेख्नै पर्छ ।" उसले भनेको यो तेस्रो पटक हो ।
"आ, लु भो है यो आर्टिकल सार्टिकल चिँ मेरो बसको कुरा हैन्, लेख्न चिँ जान्दिन पो ।" उसकै लबजमा मैले भनेकै थिएँ ।
तर उसले मानेन । मान्दै मानेन । अहिले पनि ऊ गनगन गरीराछ । अनेक तरहले अस्विकार गर्छु । फकाउँछु । जान्दिन्, यो मेरो विषय हैन भन्छु । तर ऊ गल्ने छाँट देखाउँदैन् । करकर गर्छ । हैन यो मान्छे ढुङ्गा हो कि फलाम ? म के गरुँ ?
"हुन्छ । कोसिस गर्छु ।" म भन्छु । यति नभनी त उसले कहाँ छाड्छ र ?
फलामै रहेछ नि । मै रहेछु असारको माटो । गल्न बाध्य हुन्छु, असारको पानीझैँ झमझम परेपछि म माथि उसको बारम्बारको घुर्की । म खुरुक्क मोबाईलको डायरी खोल्छु र बुडी अौँला फिरीरी स्क्रिनमा दौडाउन थाल्छु ।
यसो सोच्छु, के लेख्ने ? के विषय उपयुक्त होला ?दिमागमा केही फुर्दैन् । खाली छ हिउँदको आकाशझैँ । र सुख्खा छ खाडीको मरूभूमिझैँ l
"हर नादहरू तिम्रै, श्रुतीहरू तिम्रै .... ।" असाध्यै मन परेर गायिका संगीता राणाले गाएको 'सरस्वती वन्दना' रिङ्टोन राखेको थिएँ । यहीबेला बज्छ । आमाले गर्नु भएको रहेछ । उठाउँछु हतार हतार ।
"त्याँ करोनाको जरो आईच रे । हो बाबू ?" आमा सुरूमै सोध्नुहुन्च
विश्वलाईनै थरथर थर्काईरहेको कोरोना (कोभिड १९) के हो ? आमाले बुझ्नुभाछैन् । तर तर्सेर फोन हान्नु हुन्छ । कठै सन्तानको माया । धन्य आमा । मन हुरुक्कै हुन्छ ।
"कसले भन्यो त्यस्तो ? विदेशतिर हो । यता केही भाछैन् आमा ।" आमालाई चिन्ता नहोस् भन्ने चाहन्छु म ।
"मान्छे धमाधम मरीचन रे त तेता नि । सबै त त्यै भन्चन् ।" उहाँ मान्नुहुन्न ।
"अरूको सुनेर हुन्च त ?" आमालाई यथार्थ भनेर के जित्नु छ र ? चिन्ता थप्न मन लाग्दैन् । भन्छु, -"अरूको कुरा छोड्दिनु । बरु भन्नू तपाईँलाई के छ ? गाउँको खबर के छ ?"
"रेडीले नि फुक्या फुक्यै छ । मलाई नढाँट है । खुरुक्क आईजो यतै । " आमाको मन माने पो । सुँक्क सुँक्क गर्न थाल्नुहुन्छ ।
खुब सम्झाई बुझाई गर्छु आमालाई । पीर नामान्नु भन्छु । चिन्ताले रोगी ज्यान झन् रोगी नबनाउन भन्छु । आमा मान्नु हुन्न । अलिअलि झुट बोल्छु । अलिअलि ढाँट्छु आमालाई, आमाकै खुसीका लागि । उहाँ मानेजस्तो गर्नहुन्छ । तर बुझ्नुहुन्छ नि आमा अलिअलि ढाँटेको कुरा । म पनि बुझ्छु । तर नबुझेजस्तो गर्नु परेको छ ।
"ट्याँरररररर ट्याँररररर" भुत कराएझैँ रुखो आवाजमा फेरि आयो कोरोना अलर्ट । यो अलर्ट आएपछि बोल्दा बोल्दैको कल बिच्छेद हुन्छ । भयो अहिले पनि । लक भएकै छ भने पनि उक्त अलर्ट पढ्न सकिन्छ । हेरेँ
- बुफ्याङमा थप ९ जनामा कोभिड १९को सङ्क्रमण देखापर्यो । कृपया सङ्क्रमणको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा जचाउँन जानुहोला । हात धुनुहोला र मास्कको नियमित प्रयोग गर्नुहोला ।
अघिल्लो म्यासेज पढ्छु, एक घण्टा अघिको ।
- मास्कको अभाव छ । मास्क आवश्यक भएमा हप्तामा प्रतिव्यक्ति दुईओटा उपलब्ध हुनेछ । नजिकको सुपरमार्केट मेडिकल, हस्पिटल वा हुलाक कार्यलायबाट लिनु हुन अनुरोध छ । लिन जाँदा आफ्नो परिचय पत्र र स्वास्थ्यबिमाको प्रमाणपत्र अनिवार्य छ ।
दुई घण्टा अघिको म्यासेज...
- यन्सुदोङमा सङ्क्रमितको संख्या थप ७ जना र नाम्दोङमा थप ३ जनामा देखियो । कृपया सुरक्षित रहनु होला । कतै सार्वजनिक समारोह तथा भिडभाडमा नजानु हुन अनुरोध छ l
घण्टा घण्टामा आईरहने यस्ता अलर्टको चाङ म्यासेजबक्समा लामो छ । देशैभरि कोरोनाले अवस्था जटिल छ । कम्पनी र रुमबाहेक कतै ननिस्किन कडा उर्दी छ । अस्तिमात्र साथीको कम्पनीमा सहकर्मी कोरोनाकै कारण बित्यो । हाम्रो भन्दा तीन कम्पनी उताको मंगोलियन साथी सङ्क्रमित भएर हस्पिटल एडमिट भएको छ । धन्न हामी सुरक्षित छौँ । तर कति दिन ? अौँला भाँच्नुको बिकल्प के ?
तर काम ? कामचाँहि निरन्तर चलिरहेको छ । काम त रोकिन्न । म बुझ्दैछु यहाँ मृत्यु रोकिन्छ तर रोकिन्न काम ।
***
आमासँग बोल्दा बोल्दै अलर्टले कल पनि काटियो । फेरि गरुँ कि ? के सोच्दै हुनुहोला । भैगो । आमा रुनुहुन्छ । आमा रोएको म कसरी सुन्न सक्छु ? भरे गरुँला । मन भारी भारी हुन्छ ।
"कवि ?" टिङ्ग म्यासेन्जरमा घण्टी बज्यो । उसैले गरेछ । हेरुम कि नहेरुम भो । हेरुम, लेख्नुभो ? भनेर सोध्ला । नहेरुम, रेस्पोन्स गरेन भन्ला ।
दिमागमा बत्ति बल्यो । यही कोरोनाको बारेमा जे जानेको अनुभव किन नलेख्ने ?
"म लेख्न बसेँ है । कोरोनाको बिषयमा ।" मैले फटट टाईप गरेँ र सेन्ड गरेँ ।
"त्यो त सबले लेखीसके यार । अलि अर्कै लेख्नु न ।" उसले मानेन ।
हत्तेरिका ! के लेख्ने त ? के लेख्नु अरु ? निक्केबेर सोच्छु । केही आउन्न दिमागमा । ह्या सक्दिन म । बरु फेसबुक अफ गरेर बस्दिम क्या हो ? टन्टै साफ ।
धैत, के सोचेको होला ? केही लेख्न कोसिस त गर्नु पर्यो नि । कोसिसै नगरी त के लेखिएला र ?
फेरि सोच्छु । गम्भीर हुन्छु । यस पटक कसैले मलाई लेख्न कर गरेको छ । यो मेरालागि होमवर्क पनि हो । अौँला र शैली तिखार्ने अवसर पनि । अक्षरकै खेती गर्नु छ भने अक्षरसँग भागेर कहाँ हुन्छ त ? म बल गर्छु ।
तर अँह केही छैन दिमागमा । खाली खाली छ । छ शून्य शून्य । कोरोना र आमाको कल मात्र सम्झिन्छु बरु । भैगो, होमवर्क यसरी बुझाएर के फाईदा ?
निक्कैबेर सोचेपछि म यो सोचमा पुगेँ कि, यस पटक म केही पनि लेख्न सक्दिन् ।
अनि त साथीको ईनबक्समा पुगेँ र फटट टाईप गरेँ, 'मन भारी छ साथी, कोरोनाको तनाव हटोस् । मन शान्त होस् । आमासँग हाँस्दै बोल्न पाईयोस् । अलिकति शरद मगमगाओस् देशमा र हृदयमा । अनि पो त लेख्न पनि मज्जा होला । सकिएला । यस पटक तिम्रो वचन पूरा गर्न सकिन । साथी, लेखुँला कुनै अर्को पटक । यस्तै भयो यस पटक, माफ गर ।
तिम्रो जीवन ।'
अनि सेण्ड बटन दबाएँ । अब के रिप्लाई गर्ला ? म कुरीरहेछु ....।