अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार रुपैयाँकाे भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय पर्साको फाँट ‘ग’ को एउटा जग्गामा एकै रजिस्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र बढी राजस्व रकम उठेको लिखतको विवरण दर्ता किताबमा प्रमाणित नगरेको पाइएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो । यही सम्बन्धमा आयोगले मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको रकम भ्रष्टाचार भएको आरोपमा उनीविरुद्ध दुई करोड नौ लाख ३१ हजार रुपैयाँको दोब्बर रकम जरिबाना गर्न माग गरेर विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो ।
यसैगरी मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत भूपबहादुर बोगटीविरुद्ध पनि यही विषयमा एक करोड ४९ लाख ६९ हजार रुपैयाँभन्दा दोब्बर जरिबाना मागदाबीसहित भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । यही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरुद्ध ३५ लाख ४५ हजार रुपैयाँभन्दा दोब्बर जरिबाना मागदाबीसहित भ्रष्टाचारकाे आरोपमा मुद्दा दर्ता भएको छ । आयोगका अनुसार मालपोतका तत्कालीन अधिकृतहरू र एक जना नायब सुब्बाविरुद्ध पनि भष्टाचारको मुद्दा दर्ता भएको छ ।