माओवादी बैठकमा ७५८ जना सहभागी हुने, प्रवेश शुल्क ५००

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बिहान प्रज्ञाप्रतिष्ठानमा बस्ने भएको छ ।

केन्द्रीय समिति बैठकअघि बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने छ । स्थायी समितिले पदाधिकारी बैठकबाट प्रस्तावित एजेण्डामा छलफल गरेपछि ११ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुनेछ ।

पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ । ‘आज देशभरबाट सहभागी हुने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, पार्टी विभागका प्रमुख र सचिवसहित ७५८ जनालाई परिचयपत्र वितरण सम्पन्न भएको छ । त्यसमध्ये ३८७ जना पूर्ण केन्द्रीय सदस्य र बाँकी विभाग र प्रदेशका पदाधिकारी हुनुहुन्छ,’ कार्यालय सचिव उपाध्यायले भने । यसबाहेक अन्य लजिस्टिकको तयारी पनि पूरा भएको उनले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समिति सदस्यलगायत सहभागी आफैले खाने र बस्ने व्यवस्था गर्नुपर्नेछ । पार्टीले बैठक स्थलमा खाजा र स्टेसनरीको व्यवस्था मात्रै गरेको छ । पार्टीले बैठक प्रवेश शुल्क स्वरुप प्रतिव्यक्ति ५०० रुपैयाँ तोकेको छ ।

त्यस्तै बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् । उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकअघि बुधबार बिहान ८ बजे बस्ने स्थायी समितिले पारित गर्नेछ ।