मधुवनमा सुनिए मोमिला र बाबु, जङ्गलको यात्राको अङ्ग्रेजी संस्करण पनि बिमोचित ।

काठमाण्डौ ६ कार्तिक ।६६ सालदेखि नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले गत कार्तिक ५ गते शनिबारबाट सृजना वाचनको नया श्रृङ्खला सुरुवात गर्यो । हरेक ३/३ महिनामा थिएटरमा सञ्चालन गरिने पहिलो श्रृङ्खलामा कविहरू थिए मोमिला जोशी र बाबु त्रिपाठी । सर्वनाम थिएटरमा डेढ घण्टा बढी सञ्चालन गरिएको कार्यक्रममा कविद्वय मोमिला जोशी र बाबु त्रिपाठीले आफ्ना ६/ ६ कविताहरू वाचन गरे ।

अधिकांश कवितामा देशप्रेम, समसामयिक, यथार्थवादलाई छोईएर लेखिएका कविताहरू सुनिए । कवि मोमिलाले भीमसेन थापाको सुसाईड नोटमार्फत ताली पाईन भने कवि बाबु त्रिपाठीले राजधानी एक्सप्रेस मार्फत वान्समोरको हुटिङ पाए ।

कार्यक्रममा कवि कमला न्यौपानेद्वारा लिखित कविता सङ्ग्रह जङ्गलको यात्रा र यसको अङ्ग्रेजी संस्करणको समेत विमोचन समेत भयो । प्रा.डा. कुमार कोइराला, बुद्धभिक्षु अान्दद भन्ते, प्रा. नारायण शर्मा, कवि मोमिला जोशी, कवि बाबु त्रिपाठी, कवि बिना थिङ र प्रतिष्ठानका अध्यक्ष जीवन खत्रीले संयुक्त रुपमा उक्त कृति बिमोचन गरेका हुन् ।

कृतिमाथि बोल्दै कवि बिना थिङले कमला न्यौपानेका कविताहरू नरम, मानविय संवेदनालाई सहजै छुन सक्ने र यथार्थपरक रहेको बताइन । उनले कृतिलाई एक सुन्दर कृति भन्दै कृतिभित्रको चिया शिर्षक कविता समेत वाचन गरिन ।

कार्यक्रममा संस्थाका तर्फबाट दुई स्रष्टालाई नगद सहित सम्मान पत्रले सम्मानित गर्नुका साथै समीक्षक बिना थिङलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रतिष्ठानमा आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाणपत्र बितरण गर्नुका साथै अघिल्लो कार्यसमितिका पदाधिकारीहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

दशकअघिदेखि हरेक हप्ता साहित्यिक कार्यक्रारम गरेर ६०० भाग बढि कार्यक्रम गरिनुका साथै पत्रपत्रिका तथा कृति प्रकाशन गरि साहित्यको सेवा गरिरेहको प्रतिष्ठानको २७ अोटा शाखा संस्था रहेको प्रतिष्ठानका अध्यक्ष जीजन खत्रीले बताए । उनले भने, "हामी वर्षौँ अघिदेखि साहित्य सेवामा छौँ । यसपटकबाट नया श्रृङ्खला लिएर आएका छौँ । कार्यक्रम भव्य भयो । अर्को पटकबाट अझै बिशेष बनाउनुका साथै हरेक वर्ष एक साहित्यिक कृति र एक अग्रज स्रष्टालाई नगद राशि सहित सम्मान गर्ने परम्पराको समेत थालनी गर्नेछौँ । प्रतिष्ठानले गतवर्षबाट ५ लाखको अक्षय कोश निर्माण गरि नियमित रुपमा बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।