मेचीकाली अभियानलाई नेचासल्यानको ६ लाख सहयोग
सोलुखुम्बु – सोलुखुम्बु बहुमुखी क्याम्पसले चलाएको मेचीकाली विश्व अभियानलाई नेचासल्यान क्षेत्रबाट ६ लाख सहयोग हस्तान्तरण गरिएको छ ।
अभियान घोषणाको समयमा कबुल गरेअनुसार नेचासल्यान गाउँपालिकाले ५ लाख र वडा नं ३ कार्यालयले एक लाख हस्तान्तरण गरिएको छ । सोमबार नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ बास्तोलाले क्याम्पस प्रमुख उद्धव कुमार शर्मालाई ६ लाखको चेक हस्तान्तरण गरेका छन् ।
यसअघि एक करोड सहयोगको घोषणा गरेको सोलुदुधकुण्ड नगरपालिकाले दुई किस्तामा ४४ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिसकेको छ । अन्य स्थानिय तहबाट कबुल सहयोग रकम प्राप्त गर्न बाँकी रहेको क्याम्पस प्रशासनले जनाएको छ । ५ सय विद्यार्थीलाई आवासीय सुविधासहितको उच्चशिक्षा उपलब्ध गराउन क्याम्पसले अभियान सुरु गरेको हो ।
प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसले टुरिजम र माउन्टेनरिङ विषयमा निःशुल्क शिक्षा उपलब्ध गराउन थालेको मेची–काली अभियानमा हालसम्म २२ सय नागरिकले सहभागीता जनाएका छन् ।
एक व्यक्तिसँग न्यूनतम १ सय रुपैयाँ सहयोग लिएर एक अर्बको अक्षयकोष बनाउने लक्ष्य राखिएको छ । २०७५ फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अभियानको उद्घाटन गरेकी थिइन् । himalsamachar