
सोलुखुम्बु – रीड नेपालको आयोजना तथा स्थानीय सरकारको समन्वयमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङमा ५ दिने आधारभूत तह (कक्षा १–३)का शिक्षकहरुलाई एकिकृत सिकाइ सहजीकरण सम्बन्धी तालिम शुरु गरिएको छ ।
महाकुलुङका ९ विद्यालयका २६ शिक्षक सहभागी तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक जनकराज जोशी, सुजता राई, तिर्थराज ढुंगाना र विष्णु प्रसाद उपाध्यायले गर्नेछन् । दशक पहिले देखि सोलुखुम्बुमा शैक्षिक सुधारको लागि शिक्षक तालिम र सामाग्री वितरणमा सहयोग गर्दै आएको रीड नेपालले परिवर्तित (कक्षा १–३) को एकिकृत पाठ्यक्रमलाई लक्षित गरेर नेपाली, अंग्रेजी, गणित र हाम्रो सेरोफेरा विषयलाई समेटेर तालिम संचालन गरिरहेको छ ।
परिवर्तित पाठ्यक्रम पठनपाठनमा समस्या भएको शिक्षकहरुको गुनासोको आधारमा स्थानीय सरकारसंग समन्वय गरि एकिकृत सिकाई सहजीकरणको तालिम संचालन गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए । तालिम उद्घाटनमा बोल्दै महाकुलुङका शिक्षा शाखा प्रमुख झमक कटुवालले एकिकृत सिकाईमा अलमल भएका शिक्षकहरुलाई यो तालिमले निकै फाईदा पुग्ने बताए ।
यसअघि माप्य दुधकोशी र सोताङ गाउँपालिका भित्रका आधारभूत तहका शिक्षकलाई तालिम दिइसकेको रीड नेपालले खुम्बु पासाङल्हामू बाहेकका स्थानीय तहमा तालिम संचालन गर्नेछ । तालिमबाट करिब ३ सय शिक्षक लाभान्वित हुने बताइएको छ ।