मुख्यमन्त्री कप यु-१६ क्रिकेटमा अछाम र कञ्चनपुर विजयी
काठमाडौं । प्रथम मुख्यमन्त्री कप यु–१६ सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगिता आजदेखि सुरु भएको छ । अछामको रिडिकोट खेलमैदान, साँफेबगरमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन् ।
उद्घाटन तथा पहिलो खेलमा अछाम विजयी भएको छ । अछामले डोटीमाथी १०१ रनको फराकिलो जित निकालेको हो । पहिला ब्याटिंग गरेको अछामले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १९६ रन बनायो । जसमा रविन भण्डारीले अर्धसतकीय पारी खेल्दै ८९ रनको योगदान गरे । उनी प्लेयर अफ द म्याच पनि चुनिए । डोटीका सन्दीप औजीले २ विकेट लिए ।
१९७ रनको बिशाल लक्ष्य पन्छाएको डोटी १९ दशमलब १ ओभरमा ९५ रनमा समेटियो । उसका पारस महतले सर्वाधिक ३९ रन बनाए । अछामका निरञ्जन गौतमले ३ विकेट हात पारे ।
यस्तै अर्को खेलमा कञ्चनपुरले बझांगलाई ९ विकेटले हराएको छ । जितका लागि पाएको १२१ रनको सामान्य लक्ष्य कञ्चनपुरले १५ दशमलब २ ओभरमा भेट्टायो । जसमा अभिषेक कामीले अर्धसतक प्रहार गर्दै ५८ रन जोडे । बझांगका सुरेश रावलले १ विकेट झारे ।
त्यसअघि पहिला ब्याटिंग गरेको बझांग १९ दशमलब १ ओभरमा १२० रनमा अलआउट भयो । उसका लागि अशोक धामीले अविजित ४२ रनको योगदान गरेपनि अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । कञ्चनपुरका लागि विक्रम साउँदले ४ विकेट हात पारे । अभिषेक खेलका प्लेयर अफ द म्याच चुनिएका स्कोरर लोकेश जोशीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहबाट शिर्षमा पुग्ने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल वैशाख ७ गते हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।
उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रियस्तरीय छनौट प्रतियोगिता खेल्नेछ । राष्ट्रियस्तरीय छनौट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनौट गर्न निर्देशन दिएको हो ।
एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ । सोहि प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ ।