नेपाल टी–२० लिगमा लुम्बिनीले जनकपुरलाई ५ रनले हरायाे

काठमाण्डाै – नेपाल टी–२० प्रिमियर लिग क्रिकेटअन्तर्गत आज मङ्गलवारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई पाँच रनले हराएको छ ।

लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले २६/२६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले दुई/दुई विकेट लिए ।

यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनायाे । लुम्बिनीका लागि हरमीत सिंहले ७३ र लाहिरु मलिन्थाले ३३ रन बनाए । जनकपुरका शराफउद्दिन अशरफले तीन विकेट लिए ।

याे जितसँगै लुम्बिनी आठ खेलमा १४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । समान खेलमा १० अङ्क जाेडेकाे जनकपुर दोस्रो स्थानमा छ ।