नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनी
अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाउनुभएको छ । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
पहिलो पटक नेपाल भ्रमण आउनुभएका उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रबद्र्धनका लागि सक्रिय हुने बताउनुभयो । “मेरो खुसीको सीमा छैन”, भोजनीले भन्नुभयो, “अमेरिकामा रहनुहुने नेपालीहरुको सहयोगले नै आज म यो स्थानमा आइपुगेको छु, त्यसैले मलाई नेपाल र नेपालीप्रति असाध्यै धेरै माया र सद्भाव जहिल्यै रहिरहन्छ ।”
पाकिस्तानी मुलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुनुहुन्छ । उहाँ नेपाली समुदायबीच निकै लोकप्रिय हुनुहुन्छ । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैब सक्रिय भइरहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “टेक्सासमा नेपाली समुदायको बाहुल्यता छ, निर्वाचनका बेला मैले नेपालीमा कुराकानी गरेर भोटमागे मलाई जिताउनुस् म तपाईंहरुको सेवामा समर्पित हुनेछु ।”
नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उहाँले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउनुभयो । “पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्वपूर्ण माध्यम हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ”, सांसद भोजनीले भन्नुभयो ।
सन् २००३ मा टेक्सासको एक ग्यास स्टेशनमा काम गर्ने भोजनीको जीवन संघर्ष र सफलता निकै प्रेरणादायी छ । काम गर्दै अध्ययनलाई पनि अघि बढाउनुभएका उहाँ आज अमेरिकाको प्रतिष्ठित पदमा पुग्ने भाग्यमानी पुग्नुभएको छ । उहाँले आगामी दिनमा नेपालको पर्यटन प्रवद्र्धन, दिगो शान्ति विकास र नेपाललाई सहयोग गर्न परिवारसहित नेपाल आइरहने वाचा पनि गर्नुभयो ।
भोजनी टेक्सास राज्यमा नेपाली समुदायबीच घुलमिल हुनुहुन्छ । नेपालीलाई आइपरेका समस्या समाधानमा सधै लागि पर्नुहुन्छ । वरिष्ठ अधिवक्तासमेत रहनुभएका भोजनीले नेपाल डे पारित गरेर नेपालप्रति अगाथ प्रेम दर्शाउनुभएको छ । टेक्सासमा दशैँ, तिहार र तीज पर्वमा बिदाको मान्यता दिलाउन पनि उहाँले अहम् भूमिका खेल्नुभएको थियो । अमेरिकामा रहने नेपालीहरुका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उहाँले सुनाउनुभयो ।
सो अवसरमा भोजनीले स–साना कामदेखि अधिवक्ता हुँदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको आफ्नो संघर्षका कथाहरू सुनाउनुभयो । उहाँले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्वपूर्ण भूमिका, केहि नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका ज्येष्ठ नागरिकलाई भाषामा पर्न जाने समस्या समाधानका लागि भाषा अनुवादकहरुको व्यवस्था लगाएतका काम गर्नुभएको छ ।