
काठमाडौं । एसिसी इमर्जिङ एसिया कप अन्तरगत आज भएको खेलमा भारत ‘ए’ले नेपालमाथि ९ विकेटको सानदार जित निकालेको छ । पराजित भएसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । कप्तान रोहित पौडेलको बलमा ठूलो सट खेल्ने धुनमा अभिषेक लङअनमा कुशल मल्लबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।
नेपालले अन्तिम खेल धुबबार युएई ‘ए’सँग खेल्नेछ । भारत २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । पाकिस्तान २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छन् । समूह ‘बी’बाट भारत र पाकिस्तान दुबै सेमिफाइनलमा पुगेका छन् ।