
✍जीवन खत्री, सउल - बैशाख १५
नेपाल सरकारले गरेको लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकहरू आफ्नो रोजगार गन्तव्य मुलुक दक्षिण कोरिया जान पाउने भएका छन् । नेपाल सकारले दक्षिण कोरियासँग सहमति गरी आईतबार मन्त्रीपरिषदको बैठकलेनै कोरियामा श्रम गर्ने नेपालीलाई कोरिया जान बाटो खुला गर्ने निर्णय गरेको हो ।
यो निर्णय सँगै दक्षिण कोरियामा श्रम गर्दै गरेका श्रमिकहरू, व्यापारीहरू र विद्दार्थीहरू जो विभिन्न बिदामा नेपाल फर्केर लकडाउनका कारण अड्किएका थिए ती सबै फर्कन पाउने छन् ।
चिनको वुहानबाट माहामारीको रुपमा फैलिएको कोरोना भाईरस लगत्तै दक्षिण कोरियामा पनि माहामारीको रुप लिएको थियो तर दक्षिण कोरिया सरकारको विशेष सावधानी, उच्च सतर्कता तथा नियन्त्रणका लागि गरिएको पहलले लकडाउन नगरीकनै छोटो समयमै कोरियामा माहामारी नियन्त्रणमा आउन सफल भयो । जसका कारण याँहाका कम्पनीहरू सञ्चालनमै छन् तर छोटो अबधीको बिदा लिएर याँहा श्रम गर्ने नेपाली श्रमिकहरू नेपाल फर्केपछि नेपाल सरकारको लकडाउनका कारण कोरिया फर्कन नसक्दा भिसा गुम्ने खतरा बढेको थियो ।
एनआरएन कोरियाका संथापक अध्यक्ष तथा व्यावसायि केपी सिटौलाले संकलन गरेको एक तथ्याङ्क अनुसार ८०० बढी नेपालीहरू द. कोरियाबाट नेपाल पुगेर अड्किएका थिए । जसमा बिदा लिएर नेपाल फर्केका नेपाली श्रमिक, कम्पनी परिवर्तन गरि अर्को कम्पनीमा काममा लाग्नु अघिका श्रमिक, व्यावसायी तथा विद्दार्थीहरू छन् ।
जसको भिसानै गुम्ने खतरा रहेको भन्दै केही अघि याँहाका केही व्यावसायी संघ, समाजिक संस्था तथा एनआरएन अध्यक्ष यज्ञराज सुवेदी, डा. बिमल सुवेदी, केपी सिटौला, रुद्र शर्मा, विनोद कुवँर लगायत समाजसेवीहरूले संयुक्त रुपमा सउल स्थित राजदुतावासमा, नेपाल पुगेर अड्किएका नेपालीहरूको डाटा सहित उनीहरूलाई कोरिया फर्किने वातावरण मिलाईदिन ज्ञापन पत्र बुझाएका थिए ।
कोरिया जानको लागि बाटो खुल्ला भएपनि नियमित उडान बन्द रहेका कारण चार्टर उडानको तयारी भैरहेको एनआरएनका माहासचिव डा. बिमल सुवेदीले जानकारी दिए । नेपालमा अड्किएका नेपालीहरूलाई तयारी रहन भन्दै केही दिनमै उडान मिति सार्वजनिक गरिने समेत उनले बताए ।