२६४६ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजना हुने शान्ति पदयात्राको तयारी पुरा ।

✍️नातिबाबु भट्ट,कोलोराडो, अमेरीका।२६ सय ४६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडो स्थित डेनभर डाउनटाउनमा आयोजना हुन लागेको शान्ति पदयात्रा कार्यक्रमको सबै तयारी पुरा भएको छ ।
बौद्ध समाज कोलोराडोको आयोजनामा, बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्तिको सन्देश संसार भर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गरिन लागिएको हो ।

यहि मे १४ तारिक शनिबार बिहान १०.३० बजे डेनभर डाउनटाउन स्थित सिभिक सेन्टर पार्कमा शान्तिका अग्र दुत भगवान गौतम बुद्धको लामागुरुहरुबाट पुजापाठ गरिने छ । त्यसपछि ११ बजे धिमेबाजा सहित शुरुहुने शान्ति पदयात्रा डेनभर डाउन टाउनको १६ स्ट्रिट महल परिक्रमा गरि पुःन सिभिक सेन्टर पार्कमा आई कोणसभा गरी कार्यक्रम सम्पन्न गरिने बैद्ध समाज कोलोराडोका सचिव सञ्जय शाक्यले बताएका छन् ।

आयोजक संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले पदयात्रालाई ब्यावस्थित तरिकाबाट सफलताका साथ सम्पन्न गर्न जिम्बेवारी बाडफाड गरिएको जनाएको छ । जसमा बसन्त गुरुङलाई बुद्ध पुजा, सोनाम शेर्पालाई मन्च तथा साउण्ड सिष्टम ब्यावस्थापन, शुरेन्द्र महर्जन धिमेबाजा संजय शाक्य प्रसाद बितरण र लाक्पा शेर्पालाई पानी तथा चिसो ब्याबस्थापनको जिम्मा दिईएको सचिव शाक्यले बताएका छन् ।

समितीले संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धीजिवी, गन्यमान्य, संचारकर्मी तथा सर्वसाधारण सबैसंग मातृ भुमीलाई विश्व सामु चिनाउन पाउने यस कार्यक्रमको ब्यापक प्रचार प्रसारगरी कार्यक्रममा धेरै भन्दा धेरै जनसहभागीता गराउने बातावरण बनाई दिन हुन समेत आग्रह गरेका छन् ।

संघ संस्थाका पदाधिकारीहरुले आधुनिक संचारका बिभिन्न माध्यमहरुबाट कोलोराडोमा बसोबास गर्ने सम्पूर्ण नेपाली, नेपाली भाषी भुटानी, बिभिन्न राष्ट्रबाट कोलोराडोमा आई बसोबास गरिरहेका बौद्ध धर्मालम्बी, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानिय सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन अनुरोध गरिरहेका छन् ।

उनीहरुले सहभागीहरुलाई आफ्नो घरमा भएका नेपालको झण्डा, बुद्धको तस्विर, ब्यानर, प्रतिमा, ध्वजा पतंगा, बुद्धका महाबाणीहरु संगटिएको प्लेकार्ड लिई संभव भएसंग परंपरागत  पहिरन लगाएर उपस्थित हुन सबैलाई अनुुरोध गरेका छन् ।