
✍️नातिबाबु भट्ट , कोलोराडो, अमेरीका ।नेपालीहरुले दोश्रो महान चाड दिपावलीको अवसरमा कोलोराडो निवासी नेपाली भाषी समुदायहरुले नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ बिभिन्न शहरमा देउसी भैलो खेली झण्डै २० हजार डलर सकलन गरेका छन् ।

कोलोराडोको सबै क्षेत्रमा बसोबास गर्नुहुने नेपालीभाषी समुदायलाई सगट्ने गरी छुट्टा छुट्टै तिन समुहमा देउसी भैलो खेलिएको थियो । जस मध्ये मध्यभाग ब्रुमफिल्ड, थ्रोन्टन, वोस्टमिनिस्टर, फेड्रीकहाइट, लेक्वुड र डेनवर लगायतका क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षितगरी सिष्टर ग्रुप कोलोराडो, नेपाली घर, एनअरएन कोलोराडो च्याप्टरद्वारा संयूक्त रूपमा खेलिएको देउसी भैलोबाट ११ हजार ५ सय ७५ डलर सहयोग संकलन भएको सिष्टर ग्रुप कोलोराडोका संयोजक धन पाैडेलले बताएकी छन् । सिष्टर ग्रुपका शान्ति भुषाल र दीलकुमारी श्रेष्ठको नेतृत्वमा खटिएको टोलिले बिभिन्न ९ स्थानमा देउसी भैलो खेली उक्त रकम संकलन गरेको हो ।

यसैगरी नोभेम्बर ३ तारिक, बुधबार कोलोराडोको दक्षिणी क्षेत्र अरोरा, सेन्टीनियल, पार्कर क्षेत्रमा बसोवास गर्ने समुदायलाई लक्षितगरी Arboretum Clubhouse, 4895 S Tibet St, Aurora CO 80015 मा खेलीएको देउसी भैलोमा ५ हजार ६ सय ५९ डलर सहयोग संकलन भएको मुल समितीका संयोजक तथा नेपाली घरका उपाध्यक्ष जगदिशचन्द्र ढकाले बताएका छन् । उक्त क्षेत्रमा देउसी भैलो कार्यक्रमलाई सफलताका साथ संम्पन्न पार्न १७ सदस्सिय मुल समिती तथा अन्य बिषयगत समितीहरु गठन गरिएको थियो ।

त्यसैगरी नोभेम्वर २ तारीक, मंगलबार सांझ इरी कम्युनिटी सेन्टरमा लङमन्ट हिमालयन लायन्स क्लब, रक्कि माउण्टेन फ्रेन्ड्स अफ नेपाल, ब्लड डोनर्स अफ अमेरिका र इरीबासी नेपालीभाषी समुदायको प्रत्यक्ष सहयोग र सहकार्यमा लङमन्ट, बोल्डर, ईरी, फेड्रीक, लाफियत लगायतका स्थानमा बसोवास गर्नुहुने समुदायलाई लक्षितगरी खेलीएको देउसी भैलोबाट २ हजार ३ सय २ डलर संकलन भएको नेपाली घर अध्यक्ष लछुमन रानाले बताएका छन् ।

कोलोराडोमा नेपाली घरको आयोजनामा नेपाली भाषा, संस्कृती, रितीरिवाज तथा भेष भुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना हुदै आएको छ । यस बर्ष बिशेष गरी नेपाली सास्कृतिक केन्द्रको लागि खरिद गर्न लागिएको प्रोपर्टी कोलोजिङ प्रक्रिया पुगेको अवस्थामा यथासिघ्र जतिसक्दो धेरै पैसा जम्मा गर्नुपरेको र यस अभियानमा सबै नेपालीभाषीलाई जोड्ने अभिप्रायले यहांस्थित सबै संघ संस्था तथा समाजसेवीहरुको सहयोगमा देउसी भैलो खेलीएको हो ।

यसै बिच नेपाली घरका महासचिव बसन्त लम्सालले सामाजिक संजालमा एक स्टाटस लेख्दै सिष्टर ग्रुपका दिदी बहिनीहरूले चाडवाडको समयमा पनि लगातार ५ ,६ दिन सम्म देउसी भैलो खेलेर हाैसला बढाइ दिएको भन्दै धन्यवाद दिएका छन् । उनले सबै संघ संस्था, समाजसेवी दाताहरूको सकृयतामा संकलित १९ हजार ५ सय ३६ डलर नेपाली घरको खातामा छिट्टै जम्मा गरिने बताएका छन् ।







