
लाग्छ भुरुर्र चरिजस्तै उडेर छोइदिउ
एकपल्ट जुन
नाघिदिउ सगरमाथा
खोजेर हिडिरहुँ उज्यालोमा
जुनकीरी
प्रतिस्पर्धा गरुँ यी प्रकाशका किरणहरुसँग
अँङ्गालोमा बेरिदिउ
एकपल्ट हावालाई
मैले मुटुभित्र सजाएको नाम लेखिदिऊ पानीमा
पनि
बटुलेर जम्मै गुलाफहरु
सिरानी बनाउन पाँउ
यस्तै छन् मेरा रहरहरु ।
म उडेर हेर्न चाहान्छु
यो शहर, यी मान्छेहरु
म पाैडिएर यात्रा गर्न चाहान्छु नदिहरुसँगै
विज्ञापन गर्न चाहान्छु
आफ्ना रहरहरुको
एकदिन म आफ्ना
रहरहरु कैद गरेर
धन कमाउने छु ।।
एकदिन म युद्धभूमिमा
आफ्ना रहरहरुलाई
हतियार बनाएर वैरीहरुको
नास गर्ने छु
एकदिन म आफ्ना रहरहरुलाई
कलम बनाएर
विचारको मैदानमा
निस्कने छु
एकदिन म मेरा रहरहरुलाई
चुम्बक बनाएर दुनियाँलाई
आफूतिर आकर्षित गर्ने छु
एकदिन म मेरा रहरहरुलाई
गणित बनाएर एक-एक
हिसाब चुकाउने छु
त्यसो त यी पनि रहर न हुन्
यस्तै-यस्तै छन् मेरा रहरहरु !
✍️ सरु काविया
जोरपाटी , काठमाडौं