कविता -“भोको सारङ्गीको कथा”
पटक पटक
परिवर्तन नामको सुनामी चल्छ र
रेटी रेटी बजाउँछ मलाई
मिठो धून सुनेर
नाच्छ नाङ्गो नाच
बुझ्दैन म भोको हुनुको
विरहको सङ्गीत
सङ्ग्रहालय बनेर युद्धको,
बालाई मृत्युदण्ड दिएको चौतारीमुनि बसेर
आहत मिश्रित लयमा
आकाशतिर बालाई नियाल्दै
वर्षौंदेखि सुनाइरहेछु
मझेरीमा आमा लुटिएको कथा
बम्बैमा बहिनी बेचिएको कथा
जिउँदै भाइ पुरिएको कथा
फुटपाथमै
जुत्ताहरूले टेकिए पनि
मर्मलाई जीवनको लयसँग जोडेर
तारजस्तै करङहरूलाई कसेर
खुट्टालेनै बजाइरहेँ निरीहताको धून
"पर्दैन मलाई कानमा सुन
मात्र दिए हुन्छ एक मानो चामल र एक पोको नुन "
एकोहोरो बजाइरहेँ विनयको धून
"एक गाँस छुट्याइदेऊ भत्ताको नाममा"
अँहँ!
सुन्दै सुनेनौ तिमीले
चिन्दै चिनेनौ तिमीले
नागरिकता बोकेको रैथाने म
अनागरिक ठान्यौ
र
अलमल्याइरह्यौ परिचयपत्रको लाममा
सडकको शोक धूनलाई
सदनमा सोख धून बनाएर
अझै नाङ्गो नाच देखाइरहेछौ !
शिखरमा!
म
हिजोजस्तै आज पनि
एकोहोरो
व्यस्त बजारका गल्ली गल्लीमा
बजाइरहेछु भोकको धून
आऊ अझै
लज्जाबोध हुँदैन भने!
रेटी रेटी बजाऊ मलाई !
परिवर्तन नामको मिठो एजेन्डा बनाएर
र
म जस्तै महरूको मृत्यु उत्सव मनाऊ !
✍️मेनुका चापागाईं "मेनू"
विराटनगर -३