कविता -बाटोहरु बांगिएर हिड्छन मैसंग
बगरको उचाईजस्तो नापेर नसकिने
यस्तो घाउहरुको पाहाडमा छु
नाप्न मिल्ने कुनै आयतन रहिन अब
उचाल्न सकिने कुनै आकारमा समेटिईन अब
कस्तो तिरोहित सपनाहरु मात्रै बसेछन
आँखाहरुमा, संझन लायक कुनै उकालो रहिन !
भेउ पाउन गह्रो छः तारा खस्छ कि जुन उदाउँछ
हुरी बग्छ कि पात लहरिन्छ
चिसो सिरेटोले पोलेर छातिमा
बरफको मुस्लो मात्रै निस्कन्छ
कसरि पलाउँछ पात यी रुखहरुमा जब हिउंले जरा कठ्याङ्ग्रिरहेको छ
हुरिले हाँगाहरु लछारिन्छ
आँसुको ड्रेनमा कति बग्छ र गीत,
कुवाको पानीमा देखिने छायाँजस्तो सिमित
जति म हिंड्दै जान्छु,
बाटोहरु बांगिएर हिंड्छन मैसंग
र तुहिन्छन कतै एकलासमा -
बाह्रखरी बुकबाटै हराएजस्तो दाहिने र बाईमात्रा
भन्न खोजीरहेको छु म केही,
सायद, मसंग शब्दहरु नै छैनन,
बोल्न खोजीरहेछु म
सायद, मसंग बोली नै छैन
लेख्न खोजीरहेछु म
सायद, म संग अक्षरहरु नै गायव हुन्छन
खोक्रो बाँचेको बोझ
किन यति उदासी हाँस्छ
मान्छेका दाँतहरुमा !
कस्तो विपद् आईलग्छ:
धारामा पानी आउन्न,
सिलिण्डरमा ग्याँस भरिन्न
चुल्हो एकछाक मात्रै जल्छ
अब तीर्खा हैन भोक पुरा हुन्न
महत्वकांक्षा हैन सपना पनि मेटिन्न
उठेर हिंड्न नसक्ने हावा जस्तो
पातलो लेयरमा खोज्नु,
निभ्न लागेको मैनको उज्यालोमा जल्नु;
विसंगत आयतनका नापहरुले मलाई
बेअर्थी छाप मात्रै छोडेर हिंडेको छ ।
✍️ नारायण श्रेष्ठ
हाल - अमेरिका बोस्टन ।