
कविता-
“लामिछाने बा “
लामिछाने बा !
आज भोली हजुरको दोकानमा
हरेक बिहान चिया पिउने हरु
गफिन आउछन कि आउदैनन्
अनी हरेक हप्ताको शनिवार
सानो चोयाको डोकिमा
एक भुल्टुङ आँसु बेच्न आउने
पोक्चे केटोको याद
आउछ कि आउदैन ?
तपाईको आगन टेकेर
परदेश लागेका बटुवा हरुले
याद हरुको
सन्चो बिसन्चो पठाउछन कि
पठाउदैन्न ?
हो ,लामिछाने बा !
तपाई मुल बाटोको
पबित्र देउराली हो ।
लामिछाने बा !
पोक्चे बाध्यतको आँसु बोकेर
बेच्न आउथ्यो
हजुरले किनिदिनु हुन्थ्यो रहर
अनी स्वतन्त्र सिमलका भुवा जस्तै
उड्थे खुशी हरु
घरको आगनमा तान टागेर
पराले गुन्द्री बुन्दै गरेकी आमा लाई
सुनाउन हतार हुन्थ्यो
तर आमा बाबियोको तानमा
परालको त्यान्द्रो सिउरदै
हतासोले कसी रहन्थिन
मेरो आँखा भरी चम्किलो
खुशी हेर्दै ।
अनी गन्थिन गुन्द्रीको घेरा
मेरो उमेर संग जोड्दै
तर कहाँ मिल्दो रहिछ र ?
जिन्दगीको हिसाब किताब
लामिछाने बा !
आज भोली सिमापारी
मैले पनि बेचिरहेछु
पसिनाको रंगहरु ।
✍️गौतम सागर राई
सोलुखुम्बु हाल - कोलोराडो अमेरिका ।