
कविता -
“देवकोटा”
धनको लोभ नगरी ज्यानलाई सताई गई गए
साहित्य के हो लेखेर काव्य बताई गई गए
कलमका धनी अक्षरका साथी बनेका देवकोटा
ताराका माझ जुन झैं थिए अस्ताई गई गए
सोचेनन् कहिल्यै थुपार्नु पर्छ भोलीलाई चाहिन्छ
भएको जति माग्नेलाई दिए नलाई गई गए
मायाको नदि ब्थाको सागर दिनरातै अभावको
कुण्डमा बसी जीवनको रथ चलाई गई गए
बोलीको कानुन राजाका शासन ति राणा सरकार
भएर पनि न डगे उनि न डराई गई गए
अन्तिम सास लिएर बस्दा ए साथी लेउ भनी
एक सर्को तान्दै चुरोटको धुवाँ उडाई गई गए
ईश्वर जस्तै निश्चल मनको त्यो चोला उनको
मानव जुनी यस्तो पो हुन्छ देखाई गई गए
नेपाली भाषा साहित्य ठुलो सुनौलो पाटीमा
लक्ष्मी र प्रसाद अमर नाम लेखाई गई गए
साहित्य के हो लेखेर काव्य बताई गई गए
ताराका माझ जुन झैं थिए अस्ताई गई गए ।
✍️ नम्रता उप्रेती
नयाँबजार (१६)
काठमाण्डौ ।