कविता

“फरक दृष्टी "

म अपराधी हुँ
मेरो भाषा अपराध हो
मेरो संस्कार अपराध हो
मेरो संस्कृति अपराध हो
मेरो पुर्खा अपराधी हो
सरकार !
ठोक गोली मलाई

मेरो संस्कार संस्कृति बचाउनु
सरकार बिरोधी हुनु जस्तो भो
मर्चा उत्पादन गर्नु अपराध भो
रक्सीको आविष्कार गलत हो
किन कि यो तिमीले मान्दैनौं
त्यो तिम्रो धर्म भित्र पर्दैन
तिम्रो संस्कार भित्र पर्दैन
मान्नु त फरक रंगले छ
फरक भाषा,फरक जातीले छ
भाषा,संस्कार,संस्कृती बचाउन
तिम्रो दोषी चस्मासंग कठोर
लडाइँ चलेको छ
चलाऊ गोली छातीमा
छैन पश्चताप मर्नु संग
म अपराधी हुँ

किन कि तिमी नजन्मिदै
पितृ पुज्न गौ भोगचलन भयो
निरन्तर छ त्यसै बेला देखी
कथित अपराधी बन्ने क्रम
बनाईरहेको छौ उसै गरी
र तुरुन्त गिरफ्तार गर्छौ
गौ हत्या अभियोगमा
कहाँ मानव हत्या जस्तो
सामान्य अपराध हो र ?
गौ हत्या ?
सयौं म हरुको हत्या सरह
एक गौ हत्या अपराध हो
हाली देऊ जन्म कैद
चलाऊ गोली छातीमा
छैन पश्चताप मर्नु संग
म अपराधी हुँ

धर्म चिन्न सक्ने सँस्कृति छ
भाषा चिन्न सक्ने शिक्षा छ
श्रमिक चिन्न सक्ने बर्ग छ
बर्ण चिन्न सक्ने कानुन छ
रंग चिन्न सक्ने न्यायालय छ
यि सबैको अनुसन्धान पछी
छानी-छानी उन्मुक्ति दिन्छ
बुख्याचा तिम्रो प्रशासन
बलत्कार जस्तो समान्य कहाँ हो र ?
मदिरा उत्पादन?
घर-घरै अपराध भएको छ
पठाई देऊ तुरुन्त प्रशासन
हालि देऊ हातकडी
चलाऊ गोली छातीमा
छैन पश्ताप मर्नु संग
म अपराधी हुँ

मातृभाषा बोल्न छोडिन
संस्कृति मान्न छोडिन
घुमाउरो बोल्न जानिन
आश्वासन दिन जानिन
विश्वासघात गर्न जानिन
कुर्सीको बुई चढेर मातिन
टेबुल मुनी कारोबार गरिन
यो सब गर्नु मेरो बर्ण मिलेन
मेरो रंग मिलेन
मेरो भाषा मिलेन
मेरो संस्कार मिलेन
लगाऊ झुट्टा मुद्वा
लगाऊ निलकडी
चलाऊ गोली छातीमा
छैन पश्चताप मर्नु संग
म अपराधी हुँ

आशा छ फेरिने छ एक दिन
तिमीले लाएको दोषी चश्मा
देख्ने छौं थरी-थरी रंगीचङ्गी फूल
महसुस गर्नेछौं त्यति बेला
सत्ताको मादकताले दिएको पिँडा
याद हुने छ ईतिहास
सत्ताको घोडा चढेर सिमान्तकृतको
ढाँड माथी निर्मम परेट खेलेको
जल्ने छ मन सम्झेर
सुकुम्बासीको निन्द्रा बालेर तापेको रात
जब सम्म अनुकुलताको बुई चढ्न
छोड्दैनौं
तब सम्म खुंकार अपराधी देख्ने छौ
पठाईरहने छौ उसै गरी हरेक टुकडी
त्यस दिन हुने छ प्रतिरक्षाको लडाइँ
आत्मारक्षाको निम्ती कडा प्रतिरोध
लगाउन सक्ने छौ देशद्रोहको मुद्वा
तर...
रोक्न सक्ने छैनौं त्यो दिन
विस्फोट हुनबाट मलाई ।

✍️ सुनिल दिप्त राई
हाल - दक्षिणकोरिया ।