
काठमाडौं । नेपालले अभ्यास खेलमा ओमानमाथि सानदार जित हात पारेको छ । एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले हराएको हो ।
ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।
ओपनर साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए । कप्तान रोहित रिटायर्ट हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए ।
कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिएका थिए । तर, मल्लले ८ रन भन्दा जोड्न सकेनन् । नेपालका लागि ओपनरका रुपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भएका थिए ।
ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए । त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो ।
ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्। ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए । अर्का ओपनर कश्याप प्रजापति ३६ बलमा २ चौकासहित १६ रनमा आउट भए ।
मोहम्मद नदिमले २४ रन बनाए । नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २/२ विकेट लिए ।
एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । एसीसी प्रिमियर कप आउने मंगलबारदेखि सुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।