पाँच वर्षअघि निर्माण शुरु गरिएको दमक–चिसापानी सडक अझै अलपत्र

दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्यको चौतर्फी आलोचना भएपछि बल्ल सर्वपक्षीय बैठक सम्पन्न भएको छ । सडक निर्माण कार्यमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै माङसेबुङ गाउँपालिका इलामले तीन महिनाअघि जिल्ला प्रशासन कार्यालय इलामलाई समन्वय गराउन पत्रचार गरेको थियो ।

गाउँपालिकाले पत्रचार गरेको तीन महिनापछि जिल्ला प्रशासन कार्यालय इलामले सर्वपक्षीय वैठक बोलाएर सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

जिल्लाका राजनीतिक दल, सञ्चारकर्मी तथा सरोकारवाला सहभागी बैठकमा निर्माण कम्पनीद्वय लुम्बिनी–गणपति जे.भी. काठमाण्डौं र महालक्ष्मी किरातेश्वर जे.भी. सुकेधाराका प्रतिनिधिलाई सहभागिहरुले निर्माण कार्यको ढिलासुस्तीबारे चर्को प्रश्न र गुनासो गरेका थिए ।

निर्माण कम्पनीका प्रतिनिधिले भने कोभिडको पहिलो र दोस्रो लहर नै सबैभन्दा ठूलो कारण देखाएका छन् । तथापी पटक पटक म्याद थप्दासमेत काम गर्न नसकेको कमजोरी भने दुवै कम्पनीका प्रतिनिधिहरुले स्वीकारेका छन् ।

यता झापाको दमकदेखि इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्ग निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सडक निर्माण पूरा नभएको भन्दै स्थानीय निराश भएका छन् ।

दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको पनि वर्षौँ भइसकेको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिएको छ । ट्र्याक चौडा गर्दै कालोपत्रे गर्ने काम आधा पनि सकिएको छैन ।

दमक–चिसापानी सडक तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम सम्पन्न गर्नेगरि ठेक्का लागेको थियो ।