फिफा महिला विश्वकप फुटबलमा न्युजिल्यान्ड र अष्ट्रेलिया विजयी
काठमाडौं । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्ड र अष्ट्रेलियाकाले विजयी सुरुवात गरेको छ ।
घरेलु टोली न्युजिल्यान्डले नर्वेलाई १–० ले पराजित गर्दै समूह ‘ए’ मा विजयी सुरुवात गरेको हो । न्युजिल्यान्डको जितमा दोस्रो हाफमा हानह विल्किन्सनले गरेको गोल नै निर्णायक बन्यो ।
त्यस्तै, स्टेफ क्याट्लेको निर्णायक गोलमा आयोजक अष्ट्रेलियाले पनि नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ ।
घरेलु मैदानमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० ले पराजित गर्दै समूह ‘बी’ मा जितसहित महत्वपूर्ण ३ अंक बटुलेको हो ।
अष्ट्रेलियाको सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा बिहीबार भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा स्टेफ क्याट्लेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
शुक्रबार तीन खेलमा प्रतिस्पर्धा हुनेछ । नाइजेरिया र क्यानडा, फिलिपिन्स स्वीट्जरल्यान्ड तथा स्पेन र कोस्टा रिकाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।