पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको ज्यान गयाे
पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको ज्यान गएकाे छ । पोखरा महानगरपालिका–८ नागढुङ्गामा रहेको युनिक होटलमा हिजाे मङ्गलवार बेलुकी एक महिला अचेत अवस्थामा भेटिएकी थिइन् ।
मङ्गलवार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भिमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा विकको त्यही राति ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयाे ।
घटना शङ्कास्पद भएका कारण प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ । अहिले मृतक विककाे शव पाेस्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ । अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि धेरै कुरा खुल्ने डीएसपी विकले बताउनुभयाे ।
मृतक विकले नागढुङ्गामै रहेकाे शिला रेस्टुरेन्टमा दुई वर्षदेखि काम गर्दै आउनुभएकाे थियाे । घटनामा संलग्न युवकको पहिचान भइसकेको प्रहरीको भनाइ छ ।
यस्तो थियो घटना विवरण
मृत सुकु विकले नै फोन गरेर होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डीएसपी विकले बताउनुभयाे । विकले युवककाे नाम, नम्बर टिपाएर होटलको कोठा बुक गरेको होटल सञ्चालकले प्रहरीलाई जानकारी दिएका छन् । कोठाभित्र जुस र रेडबुल खाएको भेटिएको प्रहरीले बताएकाे छ ।
मृतक विक युवकसँग होटलको कोठामा मङ्गलवार दिउँसाे साढे ३ बजेतिर जानुभएकाे थियाे । युवक एटीएमबाट पैसा झिक्नु छ भन्दै होटलबाट बेलुकी साढे ५ बजेतिर बाहिर निस्किएका होटल सञ्चालकले बताए ।
लामो समयसम्म युवक होटलमा नर्फिएपछि होटल सञ्चालक कोठा खोल्न गएका थिए । काेठामा चाबी लगाएकाे भेटिएपछि अर्को चाबीले कोठा खोलेर हेर्दा विक अर्धनग्न र अर्धचेत अवस्थामा भेटिनुभएकाे थियाे । त्यसपछि शिला रेस्टुरेन्टकी सञ्चालकसहित विकलाई अस्पताल लगिएको बयानमा उल्लेख छ ।