पुटिनले आणविक हतियारलाई प्रक्षेपणका लागि तयार रहन निर्देशन दिए ।

एजेन्सी ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो आणविक शक्तिलाई उच्च सतर्कतामा रहन आदेश दिएका छन्। नेटो सदस्य मुलुकहरुले आक्रामक वक्तव्य दिइरहेको भन्दै पुटिनले यस्तो बताएका हुन्।

यसको अर्थ पुटिनले आणविक हतियारलाई प्रक्षेपणका लागि तयार रहन निर्देशन दिएका हुन्। जसले युक्रेनमा जारी लडाइँ आणविक युद्धमा बदलिन सक्ने जोखिमलाई बढाएको छ।

रुसका उच्च अधिकारीहरुसँगको बैठकमा पुटिनले रक्षामन्त्री र सेनाको जनरल स्टाफका प्रमुखलाई सो आदेश दिएका हुन्।

‘पश्चिमा मुलुकहरु हाम्रो देशविरुद्ध आर्थिक हिसाबले मात्रै शत्रुतापूर्ण कारबाही गरिरहेका छैनन्,’ पुटिनले भने, ‘बरु, नेटोका प्रमुख सदस्यहरुले हाम्रो देशलाई लिएर आक्रामक अभिव्यक्ति दिइरहेका छन्।’

युक्रेनमा रुसले आक्रमण गरेको चौथो दिन राजधानी किभबाहिर र दोस्रो ठूलो सहर खार्कोवमा सहरभित्रै लडाइँ चलिरहेको छ। दुई मुलुकबीच बेलारुसको सीमामा वार्ता हुने बताइएको छ।