पुटीनले बिहिबारदेखि दुई दिने भारतभ्रमण गर्नेः दुई देशबिच रक्षासंझौता गर्ने संभावना

हाम्रोआवाज न्युजडटकम​- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ र ५ तारिखमा दुई दिने भारत भ्रमणमा आउन लागेका छन्। यो भ्रमण बिहीबारबाट सुरु हुन्छ। युक्रेन युद्धपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणमा रहँदा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग धेरै चरणमा वार्ता गर्नेछन्।

यो भ्रमणमा सुखोई–५७ लडाकु विमान र एस–४०० वायु रक्षा प्रणालीका ठूला सम्झौता हुने अपेक्षा गरिएको छ। यद्यपि दुवै देशले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन।

हालै रुसी प्राविधिक टोलीले हिन्दुस्तान एरोनोटिक्स लिमिटेडको अवलोकन गरेको थियो। टोलीले यो विमान भारतमै निर्माण गर्न आवश्यक पर्ने करिब आधा सुविधा त्यहाँ उपलब्ध रहेको निष्कर्ष निकालेको छ। यो भ्रमणले सुखोई–५७ जस्तो पाँचौं पुस्ताको स्टेल्थ लडाकु विमान र एस–४०० जस्तो शक्तिशाली वायु रक्षा प्रणालीको प्रविधि हस्तान्तरणसहितको सम्झौताको आधार तयार पार्न सक्छ।

यी हतियारहरूको महत्व के छ ?
सुखोई–५७ मा स्टेल्थ प्रविधि, म्याक २ को उच्च गति, ३५ सय किलोमिटर दायरा र हावा तथा जमिन दुवैमा प्रहार गर्ने क्षमता छ। यो रडारबाट बच्दै शत्रु विमान र लक्ष्यलाई नष्ट गर्न सक्षम छ। त्यस्तै, एस–४०० ले ६०० किलोमिटरसम्म लक्ष्य पत्ता लगाई ४०० किलोमिटर टाढासम्मका ३६ लक्ष्यलाई एकैसाथ नष्ट गर्न सक्छ। यसले स्टेल्थ विमान र उच्च गतिको मिसाइललाई पनि परास्त गर्न सक्ने क्षमता राख्छ।