रास्वपाको ध्यान मधेशमा, तीनदिने केन्द्रीय बैठकदेखि सभा-भेला

संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी मधेश केन्द्रित भएको छ । मंसिर ८, ९ र १० गते सभा, अन्तरक्रिया तथा नागरिकसँग भेटघाट गरेको रास्वपाले सोमबारदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक मधेशमै गर्दैछ ।

केन्द्रदेखि प्रदेशका उच्च तहका नेताहरु मधेश पुर्‍याएर भावी विकल्प आफू हुने सन्देश प्रवाह गर्न रास्वपाले खोजेको छ । आठ जिल्लामा ३२ संघीय निर्वाचन क्षेत्र रहेको मधेशमा पार्टी शक्ति परिचालित हुनुले भावी चुनावलाई समेत मध्यनजरमा राखेको देखिन्छ ।

रास्वपा गठन भएदेखि हालसम्म लगातार तीन दिन बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको बैठक राखिएको यो पहिलो पटक हो । ११ मंसिर देखि १३ गतेसम्म महोत्तरी, जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रदेश सभापति, इञ्चार्ज र महामन्त्रीलाई पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ । संस्थागत उपस्थिति बढाउनका लागि उच्च महत्वमा मधेशमा राखेर पार्टी संयन्त्र परिचालित भएको छ । मधेशमा पार्टी संयन्त्र लागेर रास्वपाले ‘रणनीतिक मूभ’ सुरु गरेको छ ।

मधेशका जिल्लामा तिन दिनको सभा, अन्तरक्रिया र भेटघाट गर्नु र केन्द्रीय समिति र संसदीय दलको बैठक आव्हान सोही  स्थानमा गर्नुले रास्वपाले मधेशलाई प्राथमिकतामा राखेको पुष्टि गर्दछ ।

महामन्त्री मुकुल ढकाल मधेशलाई पार्टीले प्राथमिकतामा राखेर कार्यक्रमहरु निर्धारण गरेको बताउँछन् । तुलनात्मक रुपमा रास्वपाको संगठन मधेशमा कमजोर छ । ‘संगठनात्मक रुपमा पनि मधेशमा हामीले सुधार गर्नुपर्नेछ’ महामन्त्री ढकाल भन्छन्,‘पार्टी जीवनको महत्वपूर्ण बैठक भएकाले मधेशबाटै सन्देश प्रवाह गर्ने लक्ष्य हो ।’

सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु खटिएर मधेशका आठ जिल्लामा सभा, अन्तरक्रिया तथा भेटघाट गरिरहेका छन् । मधेशमा हुने कार्यक्रममा सभापति लामिछाने, उपसभापति डीपी अर्याल, सांसदहरु मनिष झा, सोविता गौतम लगायत सहभागी भएका छन् । रौतहटको सन्तपुर र गौरमा शनिबार जनसभा राखिएको थियो ।

शुक्रबार बाराको सिम्रौनगढ र निजगढ सभामा सहभागी भएका सभापति लामिछानेले सोही दिन वीरगञ्जमा अन्तरक्रिया गरे । आइतबारको लागि सप्तरीको छिन्नमस्ता र फत्तेपुरमा जनसभा गरेको छ । आइतबार बिहान सिरहाको गोलबजारमा पनि कार्यक्रम गरिएको छ ।

पार्टीको संगठन नभएका स्थानका सभामा पनि स्थानीयको उल्लेख्य उपस्थिति रहेको रास्वपा सांसद झाले जानकारी दिए ।  पार्टी र जनता दुवै तयार भएर नै मधेशका कार्यक्रम सफल भएको रास्वपाको दाबी छ ।

‘पार्टी तयार भई नेता उभिएर मात्रै कार्यक्रमहरु सफल हुन सक्दैन’ सांसद झाले भने, ‘हाम्रो लागि मधेश जनता पनि तयारी थिए । स्विकार्यता हामीले अपेक्षा गरेको भन्दा धेरै राम्रो पाइरहेका छौं ।’

गौर र गोलबजारमा नगर समिति गठन नभएपनि नागरिकको उपस्थिति उत्साहजनक रहेको झाले बताए । पूर्व पश्चिम र हुलाकी राजमार्गमा सभा र भेटघाटमा केन्द्रित रहेको रास्वपा एक महिना पछि हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिने भएको छ ।

गत उप चुनावमा बारामा मधेश मूलका व्यक्ति उम्मेदवार नहुँदा मत परिणाम अस्वभाविक कमि आएको चर्चा पार्टीभित्र पनि हुँदै आएको छ । मधेश समुदायबाट केन्द्रीय नेतृत्वमा उपस्थिति कमि रहेकाले रास्वपाको संगठन मधेशमा कमजोर रहेको विश्लेषण हुँदै आएको छ ।

‘पार्टी ‘समावेशिताका कुरामा भएको कमजोरी हटाउन पनि मधेश यात्राले सहयोग गर्छ’, महामन्त्री ढकाल भन्छन् । देशको सबैभन्दा ठूलो पार्टी बनाउने लक्ष्यलाई पुरा गर्न मधेशलाई प्राथमिकता दिइएको महामन्त्री ढकाल बताउँछन् । सदस्यता प्राप्त गर्ने प्रक्रियाको ज्ञानमा कमि हुँदा संगठित कार्यकर्ता मधेसमा अन्यत्र सरह हुन नसकेको महामन्त्री ढकालले बताए ।