कोलोराडोमा पहिलोपल्ट कुमारी रथ तान्दै इन्द्रजात्रा भब्यरूपमा सम्पन्न ।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले आयोजना गरिएको इन्द्रजात्रा भब्य रूपमा संम्पन्न भएको छ ।

कोलोराडो नेवाः खलःको आयोजनामा बर्षा र सहकालका देवता ईन्द्रको पूजा आराधना गर्दै नेवाः समुदायले मनाउने येंयाः नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको प्रांगणमा कुमारीको रथ तान्दै, पुलुकिसी नाच, धिमेबाजा धिमेनाच, लाखे नाचका साथ भब्यरूपमा सम्पन्न भएको  हो ।

जात्रा गणेश, कुमारी, अकाश भैरवको विधी पूर्वक पूजा अर्चना गरेर शुरू गरिएको थियो । रथ यात्रा पछि तिन जीवित देवी देवताहरूलाई स्वागत द्वार हुँदै धिमेबाजाका साथ मञ्चमा आसिन गराइ कार्यक्रम अगाडी बढाइएको थियो । नेवारी राष्टिय गान गाएर सुरूगरिएको कार्यक्रममा कोलोराडो नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेका थिए । त्यस्तै कलाकार दिदी बहिनीहरूले नेवारी गीत संगीतमा शुन्दर नृत्य प्रश्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी बुद्धिजिवी, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार,  नेपालीभाषी बाबा आमा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । अधिकांश नेवाः समुदायका दाजुभाइ दिदी बहिनीहरू नेवाः समुदायको परंपरागत पहिरहनमा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमलाइ हेरी रहदा आफुलाइ बसन्तपुर ढवलीमा बसेर कार्यक्रम हेरेको भान हुन्थ्यो ।

कार्यक्रममा कुमारी रथ निर्माण कार्यमा अहोरात्र खटिएर  रथ तयार पार्नुहुने महानुभावहरूलाइ बरिष्ठ कलाकार हिरण्य भोजपुरे, समाजसेवी नारायण श्रेष्ठ र नेवाः खलका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले प्रशंसापत्र प्रदानगरी सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका बरिष्ठ कलाकारहरू कृष्ण मल्ल र शर्मिला मल्लको पनि उपस्थिती रहेको थियो ।

दिउसो १२ बजे देखी ४ बजे सम्म संचालन भएको कार्यक्रम रमिता तुलाधर र सबिता  श्रेष्ठले संयूक्त रूपमा संचालन गरेका थिए । कार्यक्रमको अन्तमा सहभागी सबैलाइ  प्रसाद स्वरूप समेवजी बितरण गरिएको थियो ।

इन्द्रजात्रा काठमाडौं , भक्तपुर, ललितपुर, लगायत नेवाः समुदायको बस्ती रहेका स्थानमा इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाः समुदायले मनाउने जात्रा हो ।  इन्द्र जात्राको प्रमुख कार्य नै लिंगो ध्वजा स्थापना हो । मठै मठ र मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल मानिन्छ । जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथीसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ।

आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा उनलाई चोर भनी डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको संझनामा इन्द्रजात्रा मनाउने गरिन्छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगिन् भन्ने कथन अझै नेवाः समुदायमा जिवितै छ ।

यस अवसरमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । काठमाडौंमा मजिपा लाखे नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसि प्रदर्शन गरिन्छ भने भक्तपुरमा महाकाली नाच, दसअवतार नाच नचाउने गरिन्छ।