
काठमाण्डौँ – लोक दोहोरी गीत मन नपर्ने व्यक्ति भेट्नुहुन्छ होला र ? त्यो पनि कलाकारको उर्वरभूमी स्याङजामा । सोही भूमिमा कार्यरत आधा दर्जन शिक्षकहरुले दोहोरी मोह दर्शाएका छन् । उनीहरुले सामूहिक रुपमा दोहोरी गीत निर्माण गरेका छन् ।

कोहीले थेगो बनाए, कोहीले भाका बनाए, कोहीले शब्द लेखे त, केहीले निर्माणमा सहकार्य गरे । अनि बन्यो, ‘रातो कम्बल’ । गंगालाल मावि चापाकोटमा कार्यरत ५ शिक्षक र जनजागृती मावि चापाकोटका प्रध्यानाध्यापकको संयुक्त प्रयासबाट बनेको गीत माया पिरतीमा आधारित छ ।
रातो कम्मल
ज्यान सुक्ने पिरती भयो अम्मल
यो थेगो बनाएका हुन्, शिक्षक रामचन्द्र न्यौपानेले । यहि थेगोमा आधारित शब्द लेखनमा कस्सिए, न्यौपाने सहित उत्तम अधिकारी र दुर्गा प्रसाद कोईराला ।
ठेगान छैन् सुत्ने र उठ्ने
मुटु दुख्ने आँखामा मूल फुट्ने
रातो कम्मल
ज्यान सुक्ने पिरती भयो अम्मल

यस्तै प्रकारका शब्द संयोजनपछि गीत रेकर्डमा जुटे । रेकर्ड भन्ने वित्तिकै लगानीको कुरा चल्यो । आफ्नै सहकर्मीले गीत गर्ने भनेपछि रघुनाथ भट्टराई, गौरब भट्टराई र शिशिर आचार्यले निर्माणमा सहयोग गर्ने वातावरण बनाए । त्यसपछि निर्माताको टिम नै ६ जनाको बन्यो । उत्तम तनहूँ गजरकोटका हुन् भने अन्य स्याङजाकै हुन् ।
एक्लै गीत निकाल्ने रहर गरेको भए सायद गीत रेकर्डले लामो समय लिन सक्थ्यो । ‘एकले थुकी सुकी, सयले थुकी नदि’भन्ने लोक उक्तिजस्तै शिक्षकहरुको इच्छा र एकताले गर्दा दोहोरी गीत ‘रातो कम्बल’ तयार बनेको छ ।

गीतमा सुनिता बुढा क्षेत्री र विश्व विनोदले स्वर दिएका छन् । सुनिता लोक बजारमा चलेकी गायिका हुन् भने विश्व शुरुवाती सघर्षकै चरणमा छन् ।
गीतको भिडियो छायांकन काठमाण्डौँको टोखा क्षेत्रमा गरिएको छ । प्रकाश बस्नेतको निर्देशनमा छायांकन गरिएको गीतमा करिश्मा ढकाल र संजिव सिंह ठकुरीले स्कृन शेयर गरेका छन् ।
रुपेश श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो छिट्टै डिजिटल बजारमा पठाइने निर्माण पक्षले जनाएको छ ।

