
सोलुखुम्बु : सोलुखुम्बु जिल्लामा नयाँ सामाजिक संस्था स्थापना गरिएको छ । जिल्लाको समग्र क्षेत्रमा संस्थाको माध्यमबाट विभिद पक्षमा काम गर्ने उदेश्य सहित स्टार युथ क्लवको स्थापना गरिएको क्लवका अध्यक्ष नाम्गेल शेर्पाले आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
जिल्लामा लुकेर रहेका प्रतिभालाई पृथक ढंगबाट उजागर गर्न क्लव स्थापना गरिएको शेर्पाको भनाई छ ।
सल्लेरीको एक होटलमा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष नाम्गेल शेर्पाले आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्ने, सगरमाथा क्षेत्रको प्रचार प्रसार गर्ने, खेलमैत्री भावनाको विकाश गर्ने र आर्थिक विकाश गर्ने लगायतका काम गर्ने गरी क्लब गठन गरिएको बताउँनुभयो ।
समतामुलक समाज निर्माणका लागि सामाजिक संस्था अपरिहार्य रहेको उहाँको भनाई छ । कुनैपनि राजनीतिक दल वा व्यक्तीगत स्वार्थ भन्दा माथि उठेर जिल्लाको गाउँबस्ती सम्म पुगेर कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोलु दुधकुण्ड नगरपालिका–५ मा मुख्य कार्यालय रहने उक्त क्लवको अध्यक्षमा नाम्गेल शेर्पा, उपाअध्यक्षमा माया शेर्पा सहित ५१ केद्रीय कार्य समिति रहेको क्लबले जनाएको छ ।
यस्तै, क्लब संरक्षकको रुपमा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई रहनुहुने छ भने क्लबले ७ सल्लाहकार समिति र २ कानुनी सल्लाकार राखेको छ ।
बैशाखमा प्रदेश स्तरीय भलिबल प्रतियोगीता आयोजना गर्ने
आगामी बैशाख १५ गते देखि १८ गतेसम्म क्लव स्थापनाको उत्सवमा सोलुखुम्बु जिल्ला स्तरीय पुरुष तथा प्रदेश एक स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने क्लवले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने महिला, पुरुष समूहलाई क्रमशः रु.१ लाख ५० हजार, रु. १ लाख, रु.५० हजार र रु.२५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने समेत जनाइएको छ ।
प्रतियोगिता सोलुखुम्बुको सदरमुकाम स्थित जिल्ला समन्वय समिति र नेपाल टेलिकम सल्लेरीको प्रांगणमा हुने जनाइएको छ ।