
काठमाडौं । रोयल ब्लु सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार चर्च ब्वाइजले रोयल ब्लु सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजको जितमा आशिष चौधरी र मिलन राईले एक एक गोल गरे । सातदोबाटोका निरज चौधरीले एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा निरज चौधरीले गोल गर्दा सातदोबाटोले १–१ गोलको बराबरी गर्यो ।
खेलको ४६ औं मिनेटमा मिलनले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । चर्च ब्वाइजको यो चौंथो जित हो । चर्च ब्वाइजले १० खेलमा १८ अंक जोडेको छ ।
चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटो १७ अंक जोडेर चौंथो स्थानमा झरेको छ ।