साविक विजेता एपीएफलाई स्तब्ध पार्दै संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा । साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

संकटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले २–२ गोल गरेका थिए । एपीएफका तर्फबाट हरि कार्कीले एक गोल गरे ।

संकटाले खेलको सुरुमै अग्रता लिएको थियो । खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । अर्का विदेशी खेलाडी मेसुके ओलामाउको पासको पासलाई रिसिभ गर्दै बललाई उनले ‘वन एन्ड वन’को स्थितिमा विपक्षी गोलपोस्टको जाली चुमाएका हुन् ।

खेलको ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन् । खेलमा एपीएफले पटकपटक अवसर पाए पनि सदुपयोग गर्न भने सकेन ।

खेलको ६० औं मिनेटमास्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्‍याए । उनले टिमका डिफेन्स आन्द्रे बियिकले दिएको लामो पासलाई बिना गल्ती सुन्दर फिनिसिङ दिएका हुन् । जारी प्रतियोगितामा उनको यो तेस्रोे गोल हो । यसअघि विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गर्दा उनले एक गोलको योगदान गरेका थिए ।

खेलको एपीएफ निकै आक्रामक बनेको थियो । ७३ औं मिनेटमा एपीएफका हरि कार्कीले एपीएफका लागि सान्त्वता गोल गर्न सफल रहे । बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको छोटो पासलाई सहजै गोल गर्न सफल रहे ।

तर, ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई अझै लम्बाए । उनले मैदानको मध्यभागबाट आन्ध्रे बियिकले दिएको पासलाई गोलमा परिणत गरेका हुन् । यसअघि उनले आर्मीसँगको खेलमा पनि एक गोल गरेका थिए ।

नयाँ खेलाडी अनुबन्ध गरेर पहिलो पटक प्रतियोगितामा होमिएको संकटाले साविक विजेता एपीएफलाई हराउँदै २२ औं आहारारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । यसअघि ०७७ को सेमिफाइनलमा पनि एपीएफलाई संकटाले पराजित गरेको थियो ।

बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेको संकटाले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । एपीएफले बुढासुब्बा गोल्डकप आयोजना गर्दै आएको पूर्वेली क्लब धरान एफसीलाई पराजित गरी सेमिफाइनल प्रवेश गरेको थियो ।